परराष्ट्र मन्त्रालयले महेश श्रेष्ठ नेतृत्वमा गैरआवासीय नेपाली संघ (एनआरएनए) गठन भएको जानकारी विदेशमा रहेका नेपाली दूतावासहरूलाई गराएको छ।
परराष्ट्र मन्त्रालयका शाखा अधिकृत सृजना कोइरालाले लेखेको पत्रमा श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको उल्लेख गरिएको छ।
परराष्ट्र मन्त्री आरजु राणाको निर्देशनमा पत्र लेखिएको समेत भनिएको छ।
शेष घले नेतृत्वको उच्चस्तरीय समितिले वैशाख २० र २१ गते काठमाडौंमा एकता महाधिवेशन गरेर श्रेष्ठको नेतृत्वमा कार्यसमिति गठन गरेको थियो।
११ औं महाधिवेशनबाट निर्वाचित एनआरएनए उपाध्यक्ष हेमराज शर्माले एनआरएनए अध्यक्ष तोक्ने काम परराष्ट्रको नरहेको बताए।
सेतोपाटीसॅंग कुरा गर्दै उपाध्यक्ष शर्माले परराष्ट्रले एनआरएनएको लेखा परीक्षण र विधान प्रमाणीकरण मात्र गर्न पाउने बताए।
‘परराष्ट्रले कसलाई अध्यक्ष के भनेर दिने भन्ने छैन। परराष्ट्र र एनसिसीको पनि कुनै सम्बन्ध छैन। उनीहरू आफ्नै विधानमा चल्छन्,’ उनले भने, ‘परराष्ट्र मन्त्रीले २ समूहलाई मिलाउनभन्दा विभाजन गर्न खोजेको देखियो। अर्को कुरा अदालतमा विचाराधीन रहेका बेला प्रभावित पार्न खोजियो।’
११ औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष बद्री केसी नेतृत्वको कार्यसमितिले भने आगामी अक्टोबरमा १२ औं महाधिवेशन गर्ने निर्णय गरिसकेको छ।
शेष घले नेतृत्वको उच्चस्तरीय समितिले गराएको एकता अधिवेशनलाई आधिकारिक दिने कि बद्री केसी नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने विषय सर्वोच्च अदालतमा विचाराधीन छ।
