ग्लोबल नेपाली
गोरखाका फणिन्द्र पन्त सन् २००३ मा नेदरल्याण्ड्स जानुअघि समाजशास्त्र र रसायनशास्त्र पढ्दै थिए। सँगै उनले मनकामना चक उद्योग समेत सञ्चालन गरेका थिए। सन् १९९८ मा स्थापना भएको चक उद्योगले सुरूआतका केही वर्ष राम्रै बजार लियो। तर विस्तारै धुलोरहित चकको विकल्प आउन थालेपछि उत्पादन खर्च अनुसारको कमाइ कम हुन थाल्यो। त्यसपछि चक उद्योग दाइको जिम्मामा छोडेर उनी नेदरल्याण्ड्स गए। नेदरल्याण्ड्स गएको केही समयमा उनका दाइले चक उद्योग बिक्री गरे।
घुम्नका लागि भनेर नेदरल्याण्ड्स पुगेका पन्तले उतै बस्ने निर्णय गरे। सुरूआतका केही वर्ष होटल, रेस्टुरेन्टमा काम गरेका पन्तले सन् २००७ देखि नेदरल्याण्ड्सको ब्लड बैंकमा काम पाए। नेपालमा रसायन शास्त्रको पृष्ठभूमि भएको कारण उनलाई ब्लड बैंकको ल्याबमा काम गर्न सहज भयो।
कामसँगै ब्लड बैंक विषय लिएर उनले पोस्ट ग्र्याजुएटको अध्ययन समेत पूरा गरे।
'मलाई सुरूमा त नेदरल्याण्ड्सको ब्लड बैंकमा काम गर्ने तरिका नेपालको जस्तै होला भन्ने लागेको थियो। जब नेदरल्याण्ड्सको सेन्ट्रल ब्लड बैंकमा काम सुरू गरेँ। त्यसपछि मैले धेरै फरक पाएँ,' उनले भने, 'उताको व्यवस्थापन धेरै राम्रो पाएँ। बिरामीका लागि रगतको अभाव हुने भन्ने हुँदैन। त्यहाँ एउटै केन्द्रीय प्रणालीले काम गर्छ।'
५ वर्षपछि सन् २००८ मा नेपाल आउँदा उनी भृकुटीमण्डपको रक्तदान केन्द्रमा गए। त्यो बेला गैरआवासीय नेपाली संघ (एनआरएनए) अभियानमा उनी आवद्ध भइसकेका थिए। एनआरएनएले प्रविधि हस्तान्तरण अभियान सुरू गरिसकेको थियो। जसले गर्दा उनलाई काम गर्न सजिलो भयो।
नेपाल रेडक्रस र नेदरल्याण्ड्सको सेन्ट्रल ब्लड बैंकको बीचमा सहकार्य सुरू गराए।
'नेदरल्याण्ड्सबाट प्राविधिक ल्याएर रक्तसञ्चार केन्द्रमा सिकाउने काम भयो। एनआरएनएकै कारण विभिन्न देशमा रहेका बायोमेडिकल साइन्समा काम गर्ने साथीहरूको नेटवर्क बनाउन सहज भयो,' उनले भने, 'नेपालबाट पनि रक्तसञ्चार केन्द्रको टोलीलाई नेदरल्याण्ड्स लगेर त्यहाँको काम गर्ने तरिका र प्रविधिबारे जानकारी गराउने काम भयो। यस्ता कुरा देखिँदैनन् तर भित्रभित्रै परिवर्तन भइरहेको हुन्छ।'
नेपालमा हरेक दिनजसो रक्तदान कार्यक्रम भइरहने अनि डोनरको समस्या नहुँदा समेत रगतको अभाव हुनुलाई उनी व्यवस्थापनको कमजोरी भन्छन्। बिरामीलाई रगत चाहिँदा उसका आफन्तलाई खोज्न लगाउन जरूरी नहुने उनको बुझाइ छ।
'बिरामीलाई आकस्मिक रूपमा रगत चाहिएको हुन्छ तर त्यसको व्यवस्था गर्न बिरामीका आफन्तलाई लगाइन्छ। हस्पिटलमा रगत हुँदा पनि त्यसको सदुपयोग भइरहेको हुँदैन,' उनले भने, 'बिरामीका लागि रगतको व्यवस्था अस्पतालले गर्ने हो भनेर हामीले वकालत गरिरहेका छौं। यसको लागि राष्ट्रिय तहमै नीति बन्न जरूरी छ।'
एनआरएनएले नेपाल रेडक्रस र प्रदेश सरकारहरूसँग मिलेर रगत संकलनका लागि सहयोग गर्दै आएको पन्तले बताए।
१५ वर्षसम्म नेदरल्याण्ड्सको ब्लड बैंकमा काम गरेका पन्त अहिले भने जनस्वास्थ्यको क्षेत्रमा सक्रिय छन्। उनले विशेष गरेर मानसिक स्वास्थ्यको क्षेत्रमा पनि काम गर्छन्। बिरामीको अस्पताल बसाइँ कसरी कम गर्ने, उसलाई समुदायमै कसरी राख्ने लगायतका विषयमा आफूहरूले काम गर्ने उनको भनाइ छ।
नेदरल्याण्ड्सको ह्याप्पीनेस प्रोजेक्टमा काम गरिरहेका पन्त पछिल्लो समय व्यवसायमा समेत सक्रिय छन्। उनले नेपाली उत्पादनलाई नेदरल्याण्ड्स पुर्याउँछन्।
'देशले युवा पठाउने होइन, सामान पठाउन पर्छ भन्ने मेरो सोच हो। त्यही भएर मेड इन नेपाल सामान त्यहाँ लैजान्छु। हामीले ऊलनका कपडा ह्याण्डीक्रयाफ्ट लगायत लैजान्छौं,' उनले भने, 'गोरखा, तनहुँ, लमजुङ र काभ्रे गरी ४ जिल्लामा नेदरल्याण्ड्स सरकारकै सहयोगमा कफी खेती सुरू भएको छ। झण्डै २५ सय किसान त्यसमा सहभागी छन्। त्यो कफीलाई नेदरल्याण्ड्सको बजारमा पुर्याउने जिम्मेवारी मेरो हो।'
एनआरएनएका प्रवक्ता समेत रहेका पन्तले संस्थाभित्र समाजसेवा भन्दा स्वार्थ हावी हुँदा समस्या देखिएको बताए।
स्वयमसेवी संस्थालाई प्रयोग गरेर आफ्नो काम गर्न खोज्नेहरूले यसलाई तदर्थवादमा चलाउन खोजेको उनको तर्क छ।
'मेमा एकथरी साथीहरूले गर्ने भनेको अधिवेशन हुन्छ भन्ने लाग्दैन। यदि भयो भने पनि यसले एकतालाई समेट्न सक्दैन,' उनले भने, 'संस्थालाई प्रभावकारी बनाउने हो भने अलि फराकिलो सोच राख्नु पर्छ। अक्टोबरमा हुने महाधिवेशनसम्म मिलाउनको लागि हामीसँग समय छ। त्यो समयको सदुपयोग हुनुपर्छ भन्ने हो।'
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- [email protected]