गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) एनसिसी मलेसियाले मलेसियाका लागि नेपाली राजदूत डा. नेत्रप्रसाद तिम्सिनाले कार्यक्रममा उपस्थिति हुने विश्वास दिलाएर अन्तिम समयमा उपस्थित नभएको भन्दै गुनासो गरेको छ।
एनसिसी मलेसियाले अचानक कार्यक्रममा दूतावासको अनुपस्थितिले एसिया प्यासिफिक र एनआरएनए आइसिसीसँगै मलेसियामा रहेका सम्पूर्ण नेपाली जनसमुदायमा निराशा थपेको भन्दै प्रेस विज्ञप्ति जारी गरेको हो।
'एनआरएनए मलेसियाका अध्यक्षसहितका पदाधिकारीहरूले फेब्रुअरी ३ तारिख (गत सोमबार) नेपाली राजदूतावास क्वालालम्पुरको कार्यालयमै पुगेर नवनियुक्त राजदूतसँग भेटघाट गरी कार्यक्रमका लागि औपचारिक रूपमै निमन्त्रणा गरेका थियौं। राजदूत ज्यूले फेब्रुअरी १६ (आइतबार) अन्य कुनै कार्यक्रम नरहेको हुँदा सोही दिन नै कार्यक्रम गर्न आग्रहसँगै सहमति जनाउनु भएको थियो,' विज्ञप्तिमा भनिएको छ।'
राजदूतकै सल्लाह र समयअनुसार कार्यक्रम तय गरिँदा पनि उपस्थिति नरहेको उल्लेख गरिएको छ।
सबै तयारी सकिसकेर पनि राजदूतको अनुपस्थितिका कारण कार्यक्रम नै स्थगित गर्नु परेको एनसिसीले जनाएको छ।
