प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपालीहरूको मागलाई आगामी हिउँदे अधिवेशनमा सम्बोधन गर्ने बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीसँग भएको भेटमा प्रधानमन्त्री आलीले यस्तो आश्वासन दिएका हुन्।
प्रधानमन्त्रीसँगको भेटमा अध्यक्ष केसीले गैरआवासीय नेपाली संघले आगामी हिउँदे अधिवेशनबाट विदेशमा रहेका नेपालीहरूलाई संविधानले सुनिश्चित गरेका सामाजिक, आर्थिक र सांस्कृतिक अधिकारको कार्यान्वयनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग अनुरोध गरेका थिए।
संघका अध्यक्ष केसीले प्रधानमन्त्री ओलीलाई भेटेर संविधानले नै स्पष्ट रूपमा दिएको अधिकार कार्यान्वयनमा सहजीकरण गरिदिन आग्रह गरेका थिए।
अध्यक्ष केसीले लगानीको सबालमा सरकारले धेरै हदसम्म माग सम्बोधन गरे पनि उक्त लगानी भित्र्याउन आवश्यक गैरआवासीय नेपाली नागरिकताकै कार्यान्वयन नहुँदा प्राप्त उपलब्धिमा पनि खुसी हुने अवस्था नभएको बताएका थिए।
बारम्बार ध्यानाकर्षण गराउनुका साथै, नेपाल कानुन सुधार आयोगबाट समेत प्रस्तुत भएको मस्यौदालाई पनि बेवास्ता गर्दै पछिल्लो पटक गैरआवासीय नेपाली नागरिकता बाहकलाई १० वर्ष भिसा शुल्क छुट हुने प्रावधानको अध्यादेश जारी भएकोप्रति केसीले असन्तुष्टि जनाएका थिए।
‘हामी आफ्नै देशमा आउन पनि पैसा तिरेर आउनुपर्ने प्रावधान आयो प्रधानमन्त्री ज्यू? के हामी नेपाली होइनौँ?,’केसीले प्रधानमन्त्रीसॅंग भने,‘संविधानले नै दिएको अधिकार पनि संकुचित पार्दा विदेशमा बस्ने ८० लाख नेपाली हतोत्साही भएका छन्।ʼ
जबाफमा प्रधानमन्त्री ओलीले संविधानमै भएका कतिपय व्यवस्थाका लागि कानुन निर्माणको चरणमा रहेकोले पनि कार्यान्वयनमा ढिलाइ भएको भन्दै अब छिट्टै यो समस्या समाधान हुने प्रतिबद्धता व्यक्त गरे।
‘अब संसद बैठक आह्वान हुँदा तपाईंहरूको समस्या पनि सम्बोधन हुन्छ,’ प्रधानमन्त्रीको भनाइ उदृत गर्दै केसीले भने,‘सबै एकैपटक नभए पनि क्रमशः तपाईंहरूले भोग्नुपरेको कठिनाइ सम्बोधन हुन्छ।’