गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली (एनआरएन) लाई संविधान अनुसारको नागरिकता दिन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बद्री केसी, उपाध्यक्ष रोजिना प्रधान राई सहितको टोलीसँग भएको भेटमा गृहमन्त्री लेखकले हिउँदे अधिवेशनमा आवश्यक कानुन बनाउने बताए।
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विषयमा माननीय गृहमन्त्रीज्यूसँग भएको गम्भीर छलफलबाट सकारात्मक आशा जागेको एनआरएनए उपाध्यक्ष राईले बताइन्।
‘गृहमन्त्रीज्यूले संविधानले दिएका अधिकार कार्यान्वयन गर्न तथा गैरआवासीय नेपालीहरूको आवतजावत र बसोबासलाई सहज बनाउन आवश्यक हिउँदे अधिवेशनमा कानुन बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएकोमा हामी उहाँप्रति आभार व्यक्त गर्न चाहन्छौं,’ उनले भनिन्, ‘यो कदमले गैरआवासीय नेपालीहरूको भावना र स्वाभिमानलाई सम्मान गर्ने छ भन्ने हाम्रो विश्वास छ।’