रूसको राजधानी मस्को नजिकैको क्रोकस सिटी हलमा आतंककारी हमला हुँदैछ भनेर दुई हप्ताअघि नै अमेरिकाले रूसलाई सचेत गराएको खुलेको छ।
मार्च २२ मा १४४ जनाको मृत्यु हुने गरी भएको सो हमलाको जिम्मेवारी इस्लामिक स्टेट खोरासानले लिएको छ। घटनापछि अमेरिकाले पनि आफूसँग त्यो हमला इस्लामिक स्टेट खोरासानले नै गरेको हो भन्ने खुफिया प्रमाण छ भनेको थियो।
रूसमा रहेका आफ्ना नागरिकलाई मार्च ७ मा अमेरिकाले धेरै भीड हुने ठाउँमा ४८ घण्टाभित्रै यस्तो आतंककारी हमला हुन सक्ने भन्दै सचेत गराएको थियो। आक्रमण हुन सक्ने खुफिया सूचना पाएको भन्दै अमेरिकाले रूसलाई समेत सचेत गराएको थियो भनेर पश्चिमा मिडियाले त्यतिबेलै लेखेका थिए।
क्रोकस सिटी हलको नामै लिएर सम्भावित आक्रमण हुनसक्ने ठाउँ भनेर अमेरिकाले रूसलाई खुफिया जानकारी दिएको थियो भनेर द वासिङ्गटन पोष्टले मंगलबार लेखेको छ।
मार्च ६ मा केही दिनमा क्रोकस सिटी हलजस्ता भीड हुने ठाउँमा आतंककारी हमला हुनसक्ने जानकारी अमेरिकाले दिएको भनेर खुफिया स्रोतहरूको हवाला दिँदै द वासिङ्गटन पोष्टले दाबी गरेको छ।
आक्रमण भएको तीन दिनअघि भएको खुफिया संस्थाहरूको बैठकमा पश्चिमाले ध्यान भड्काउन अफवाह फैलाएको भन्दै युक्रेन विरूद्धको युद्धमा ध्यान केन्द्रित गर्न रूसी राष्ट्रपति पुटिनले निर्देशन दिएका थिए। उनले सो चेतावनी ठाडो ‘ब्ल्याकमेल’ जस्तो भएको र त्यसको उद्देश्य रूसी समाजलाई भयभीत र अस्थिर पार्ने भएको भनेर उनीहरूले लेखेका छन्।
तर द वासिङ्गटन पोष्टमा समाचार आएपछि प्रतिक्रिया दिँदै रूसको विदेशी गुप्तचर सेवाका प्रमुख सर्गइ नेरिस्किनले अमेरिकाले दिएको सूचना आम खालको भएको र यसले आक्रमणकारीको पूर्णरूपमा पहिचान गर्न सहयोग नगरेको बताए।
उनले रूसले सूचना पाएपछि आक्रमण रोक्न आवश्यक कदम चालेको पनि दाबी गरे। तर घटनापछि सार्वजनिक भिडिओहरूमा आक्रमणकारीले बिना कुनै रोक-तोक गोली हानेको देखिन्छ। आक्रमण सुरू भएको एक घण्टासम्म सुरक्षाकर्मी नआएको र आएपछि पनि लगभग आधा घण्टा कुरेर मात्रै भित्र पसेको भनेर रूसी मिडियालाई उदृत गर्दै पश्चिमा मिडियाले लेखेका छन्।
अमेरिकाले केही दिनमा आतंककारी हमला हुन सक्ने जानकारी दिएपछि सतर्कता बढाए पनि त्यस्तो हमला नभएपछि रूसी सुरक्षा निकायले अलिक कम ध्यान दिएका हुनसक्छन्। आक्रमण भएको तीन दिनअघि भएको खुफिया संस्थाहरूको बैठकमा पुटिनले त्यसै कारणले पश्चिमाले ध्यान भड्काउन अफवाह फैलाएको भनेको हुनसक्छन्।
अमेरिकाले आतंककारी हमला हुनसक्ने सूचना मित्र राष्ट्रलाई मात्रै नभएर शत्रु राष्ट्रसँग पनि बाँड्छ।
अमेरिकाद्वारा मारिएका इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको स्मृतिमा जनवरी २०२४ मा आयोजना गरिएको कार्यक्रममा इस्लामिक स्टेट खोरासानले आतंककारी हमला गरेर लगभग १०० जना मारेको थियो। सो घटनाअघि पनि इरानमा आतंककारी हमला हुनसक्ने भनेर अमेरिकाले सूचना दिएको भनेर द वालस्ट्रिट जर्नलले लेखेको थियो।
मार्च २२ मा क्रोकस सिटी हलमा सुरूमा बन्दुकधारीले भेला भएका मानिसमाथि जथाभावी गोली हानेका थिए। पछि सो हलमा आगो लगाएर उनीहरू भागेका थिए। आगोमा जलेर धेरै जनाको मृत्यु भएको थियो।
सो भवनको भित्तामा प्रज्वलनशील सामग्री प्रयोग भएकोले धेरै धनजनको क्षति भएको भनेर रूसी समाचार संस्था तासले बिहीबार जनाएको छ। भित्तामा प्रज्वलनशील सामग्री प्रयोग भएकाले आतंककारीले सल्काएको आगो छिटो-छिटो फैलिएको र ठूलो क्षति भएको भनेर रूसी सुरक्षा निकायलाई उदृत गर्दै तासले लेखेको छ।
क्रोकस सिटी हलमा आक्रमण गर्ने इस्लामिक स्टेट खोरासान के हो?
इस्लामिक स्टेट खोरासान सन् २०१४ मा इराकको केही भाग र सिरियाको झण्डै आधा भूभाग कब्जा गरेर इस्लामी ‘क्यालिफेट’ बनाएको इस्लामिक स्टेट अफ इराक एण्ड सिरिया (आइसिस) को मध्य एसियाली शाखा हो।
२०१८ सम्ममा इस्लामिक स्टेटले कब्जा गरेको लगभग सबै भूमि गुमाए पनि यसका अफ्रिका र अरू विभिन्न ठाउँमा शाखाहरू छन्। त्यसमध्ये इस्लामिक स्टेट खोरासान मध्य एसियाली शाखा हो।
समाचार संस्था रोएटर्सका अनुसार इरान, अफगानिस्तान र तुर्कमेनिस्तानलगायत मध्य एसियाको भूभागलाई जनाउने पुरानो इस्लामी नाम खोरासान हो।
द इकोनोमिस्टका अनुसार इस्लामिक स्टेट खोरासान मुख्यतया अहिले उत्तरी र पूर्वी अफगानिस्तानमा आधारित छ। यो समूह अमेरिकी सेना बाहिरिएपछि अफगानिस्तानमा शासन गरिरहेको तालिवानको कट्टर शत्रु हो। तालिवान अमेरिकासँग सम्झौता गरेर बिकेको यो समूहको आरोप छ।
आइसिसको यो शाखा २०१४ तिरै बनेको मानिन्छ। आइसिस सुन्नी इस्लामको सबभन्दा कट्टरपन्थी समूह हो। यसको शाखा इस्लामिक स्टेट खोरासानले पनि शिया मुसलमान र आफूभन्दा कम कट्टर सुन्नीलाई समेत देखी सहँदैन।
यो समूहले २०१९ देखि २०२१ को बीचमा अफगानिस्तानमा मस्जिद र विद्यालयहरूमा गरिएका धेरै आक्रमणहरूको जिम्मेवारी लिएको छ। अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता हुने क्रममा काबुल एयरपोर्टमा यो समूहले आत्मघाती बम विष्फोट गराएको थियो। सो घटनामा १३ अमेरिकी सैनिकसहित १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो।
अमेरिकाद्वारा मारिएका इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको स्मृतिमा जनवरी २०२४ मा आयोजना गरिएको कार्यक्रममा आतंककारी हमला गरेर झण्डै १०० जनालाई यो समूहले मारेको थियो।
मध्य एसियाबाट आइसिसका लागि सिरियामा लड्न गएर पछि घर फर्केका लडाकूलाई पनि यो समूहले भर्ना गरिरहेको भन्नेछ।
इस्लामिक स्टेट खोरासानले रूसमा किन आक्रमण गर्यो?
आइसिसलाई हराउन सिरियाका राष्ट्रपति बसर अल-असदलाई सहयोग गरेकाले पुटिनसँग यो समूह क्रुद्ध छ। पुटिनले रूसकै चेचेन्यामा मुसलमानको चरम दमन गरेकाले पनि इस्लामी कट्टरपन्थीहरू उनीसँग चिढिएका छन्। तत्कालीन सोभियत संघले अफगानिस्तानमा सेना पठाएर कब्जा गरेदेखि नै त्यहाँका मुसलमानहरू रूसीहरूसँग रिसाएका छन्।
रूसले आक्रमणकारी भनेर मुद्दा चलाएको ४ जना सबै ताजिकिस्तानी नागरिक हुन्। इस्लामिक स्टेट खोरासानले कट्टरपन्थी मुसलमानहरूलाई नियन्त्रण गर्न खोज्ने ताजिकिस्तानका तानाशाह इमोमाली रहमोनको धेरै आलोचना गर्छ। रहमोन पुटिनका समर्थक समेत हुन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सहयोगमा)