ओमनमा आइतबार एक समारोहकाबीच नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ गरिएको छ।
नेपाली राजदूतावास मस्कटले ईम्ति भिलेजमा एक कार्यक्रम गरि नेपाल भ्रमण वर्ष को औपचारिक शुभारम्भ गरेको हो।
नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरेसँगै ओमानस्थिन नेपाली दूतावासले विविध कार्यक्रम गरी यसलाई सफल बनाउने तयारी गरेको छ।
ओमानको राजधानी मस्कट भन्दा करिब १ सय २५ किमि टाढा रहेको ऐतिहासिक महत्वको गाउँमा कार्यक्रम भएको थियो। ओमानी सभ्यताको पहिचान दिने यो प्राचीन वस्तीले कार्यक्रमका सहभागीहरूलाई ओमानको इतिहाससँग साक्षात्कार हुने मौका समेत प्रदान गरेको राजदूत शर्मिला पराजुली ढकालले जानकारी दिइन।
करिव एक हजार जनाको बसोबास रहेको उक्त वस्तीमा कार्यक्रमले ओमानी जनतासँग नजिकको सम्बन्ध स्थापित गर्दै पर्यटन प्रवर्द्धनमा लक्षित समुहसँग नजिक हुने वातावरणको सिर्जना समेत गरेको उनले बताइन।
कार्यक्रममा ओमानका लागि नेपाली राजदूत ढकालले नेपालमा घुम्नका लागि किन जाने लगायतका विषयमा जानकारी दिएकी थिइन। कार्यक्रमका प्रमुख अतिथि शेख खलिफा अलि अल हार्थीले नेपाल आफूलाई धेरै मन पर्ने बताए। उनी परराष्ट्र मन्त्रालयका सचिव हुन।
नेपाल सरकारले शुरू गरेको यस महत्वपूर्ण कार्यलाई साथ दिन उनले ओमानी पर्यटकहरूसँग आग्रह गरे ।
कार्यक्रममा सगरमाथाको सफल आरोहण गरेकी पहिलो ओमानी महिला नदिरा अल हार्थीले आफूले नेपाल भ्रमण तथा सगरमाथा आरोहण गर्दाको रोमाञ्चकारी अनुभव सुनाइन ।
कार्यक्रममा नेपाली गीत गाउने पहिलो अरबिक गायक हाइथम मोहम्मद रफिले नेपाली कला संस्कृतिबारे आफ्नो भनाइ राखेका थिए। कार्यक्रममा सहभागि ओमनका नागरिकहरुलाई नेपाली खानाका परिकारहरू सेलरोटी, मःम, ढिक्री, भक्का, दालको फुरौला, गुन्द्रुकको अचार, चुकाउनी लगायतका परिकारहरूको स्वाद चखाइएको थियो।