इरानले आफ्नो क्षेप्यास्त्र प्रहारबाट युक्रेनी विमान दुर्घटना भएको स्वीकारेसँगै तेहरानमा सयौँ नागरिक सर्वोच्च नेता आयातोल्ला अलि खामेनीको राजीनामा माग्दै आन्दोलनमा उत्रेका छन्।
इराकमा रहेको अमेरिकी अड्डामा आक्रमण गर्दा क्षेप्यास्त्र प्रहारबाट विमान दुर्घटना नभएको बताउदैँ आएको इरानले त्यसको तीन दिनपछि (शनिबार) मात्रै अनजानमा हुन पुगेको बताएको थियो।
इरानले गल्ती स्विकारेपछि शनिबार साँझ त्यहाँका नागरिकहरु आयातोल्लालाई 'झुटुवा' भन्दै सडकमा उत्रेका थिए। आन्दोलनकर्ताले 'झुटुवाको मृत्यु', 'तानाशाहीको मृत्यु' लगायतका नारा लगाएका थिए।
आन्दोलनकर्ताहरुले दुई विश्वविद्यालय बाहिर प्रदर्शन गरेका थिए जसले ठुलो रूप लिदाँ प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको थियो।
गत बुधबार युक्रेनी विमान दुर्घटनामा १७६ जनाको मृत्यु भएको थियो। दुर्घटनामा ८२ इरानी, ६३ क्यानेडियन, ११ युक्रेनियन, १० स्विडिस, ४ अफगानी, ३ जर्मन र ३ बेलायती नागरिकको मृत्य भएको थियो।
उक्त प्रदर्शनको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत समर्थन गरेका छन्।
शनिबार ट्रम्पले ट्वीट गर्दै लामो समयदेखि पिडीत सहासी नागरिकहरुलाई आफू राष्ट्रपति भएदेखि नै समर्थन गरिरहेको बताएका छन्। साथै आफ्नो सरकार भएसम्म त्यहाँका नागरिकलाई समर्थन रहने उनले बताए।
बग्दाद विमानस्थल नजिकै अमेरिकी ड्रोन आक्रमणबाट सैनिक कमाण्डर कासिम सुलेमानिको हत्यापछि अमेरिका र इरानबिच तनाव बढेको थियो। सुलेमानीको हत्यापछि त्यसको बदलामा इरानले इराकस्थित अमेरिकी अड्डामा दर्जनौं क्षेप्यास्त्र प्रहार गरेको थियो।