विश्वकै सबैभन्दा जेठी मानिएको पूर्वीय कालो जातको गैंडाको ५७ वर्षको उमेरमा मृत्यु भएको छ।
तान्जानियाकी फाउस्ता नामक बूढी गैँडाको गत शुक्रबार मृत्यु भएको हो।
सन् १९६५ मा फाउस्ता तीन वर्षको हुदाँ एन्गोरोङगोरो क्रेटरमा भेटीएकी थिइ। ५४ वर्षको उमेर सम्म पनि ऊ उक्त स्थानमा निर्धक्क साथ घुम्ने गर्थी।
तर उमेर बढेसँगै फाउस्ताको स्वास्थ अवस्था कमजोर हुँदै गएको थियो। त्यसपछि फाउस्तालाई आरक्षण स्थलमा विशेष हेरचाहका साथ राखिएको थियो।
फाउस्ताबाट कुनै बच्चा जन्मिएन। यस कारण पनि उसको आयु लामो भएको हुन सक्ने संरक्षणविद्हरुको अनुमान छ।
सन् २०१६ सम्म फाउस्ताको आखाँ कमजोर भइसकेको थियो भने हाइनाको आक्रमणबाट असर गरिरहेको थियो।
संयोगवश फाउस्ताको मृत्यु भएकै दिन अर्को गैंडाको जन्म भएको गैंडा संरक्षक फ्रेडी मनोन्गीले बताए। उनका अनुसार उसको मृत्यु सामान्य प्राकृतिक रुपमै भएको हो।
प्राय गैंडाहरु ३७ देखि ४३ वर्ष सम्म बाच्ने गर्छन् भने कुनै ५० वर्ष सम्म बाचेको अभिलेख रहेको बिबिसीले जनाएको छ। फाउस्ता जस्तो पूर्वी कालो गैंडा लोपोन्मुख गैंडा हो। शिकारीहरुले यसको सिङको लागी मार्ने गर्छन्।