क्युबाले ४३ वर्षपछि प्रधानमन्त्री पाएको छ।
राष्ट्रपति मिग्वेल डियाज-क्यानेलले पर्यटन मन्त्री म्यानुयल मारेरो क्रुजलाई शनिबार प्रधानमन्त्री नियुक्त गरेका हुन्।
सन् १९७६मा पूर्वराष्ट्रपति तथा क्रान्तिकारी नेता फिडेल क्यास्ट्रोले प्रधानमन्त्री पद हटाएदेखि अहिलेसम्म कोही प्रधानमन्त्री नियुक्त भएका थिएनन्।
कम्युनिष्ट सरकारले गत वर्ष मात्रै नयाँ संविधान लागू गरी प्रधानमन्त्रीको पद पुनर्स्थापना गरेको हो। ५६ वर्षीय प्रधानमन्त्री मारेरोले अबदेखि राष्ट्रपतिको केही जिम्मेवारी सम्हाल्ने छन्।
यसअघि मारेरोलाई पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोले सन् २००४मा पर्यटन मन्त्री नियुक्त गरेका थिए। पछिल्लो १५ वर्ष यता क्युबाको पर्यटन क्षेत्र विकास गर्न मारेरोको ठूलो योगदान रहेको मानिन्छ।