अफगानिस्तानको पूर्वी क्षेत्रमा भएको विस्फोटनको घटनामा परी कम्तीमा १२ जना मारिएका छन्।
कतारमा अफगानिस्तानको द्वन्द्व अन्त्य गर्ने बारेमा शान्तिवार्ता भइरहेका बेला अफगानिस्तानमा पछिल्लो समय धेरै विस्फोटनका घटना भइरहेका छन् ।
आइतबार भएको विस्फोटन पनि त्यसैको श्रृङ्खला भएको र विस्फोटनमा परी अरु कैयौं घाइते भएको जनाइएको छ। गुप्तचरसम्बन्धी एक कार्यालय नजिकै विस्फोटन भएको हो।
अमेरिकी सहजकर्ताको समन्वयमा अफगानिस्तानी प्रतिनिधि र तालिवान लडाकूको पक्षबीचमा दोहामा शान्तिवार्ता भइरहेको छ।
अफगानिस्तानमा १८ वर्षदेखि जारी द्वन्द्व समाधानका लागि अमेरिकाले प्रयास गरे पनि खासै उपलब्धि हुन भने सकेको छैन।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिडुल्लाह मायरले १२ जनाको मृत्यु भएको र १७९ घाइते भएको जानकारी दिए। घाइतेमध्ये अधिकांश सर्वसाधारण र बालबालिका रहेका छन्। (रासस/एएफपी)