नेपालमा लगानी संभावनाबारे ओमानको मस्कटमा छलफल भएको छ।
नेपाली दूतावासले डब्ल्यू मस्कट होटलमा ‘नेपालमा लगानीको सम्भावना’ विषयक कार्यक्रम आयोजना गरेको हो। सो अवसरमा ओमानका लागि नेपाली राजदुत शर्मिला पराजुली ढकालले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको बताइन्।
उनले कृषि, उर्जा, पर्यटन, उद्योग, यातायात लगायत क्षेत्रमा प्रशस्त संभावना रहेकाले लगानीका लागि आह्वान गरिन्। उनले लगानी अनुकूल वातावरण बनाउन नेपाल सरकारद्वारा विभिन्न सरकारी र संस्थागत नीतिमा ल्याएका सुधारहरुबारे जानकारी गराइन्।
कार्यक्रममा प्रमुख अतिथि अहमद बिन हसन अलदिबलाई ढकालले मायाको चिनो प्रदान गरिन्। विभिन्न देशका राजदुत, मिसन प्रमुख, आर्थिक तथा व्यापार सल्लाहकार, इन्भेस्टमेन्ट प्रोमोशन तथा निर्यात विकासको लागि सार्वजनिक प्राधिकरण (आइटिएचआरएए)ओमान र स्टेट जनरल रिजर्भ कोषका विशेष प्रतिनिधिहरुको कार्यक्रममा सहभागिता थियो।
ओमान सरकारका तर्फबाट लगानीको लागि छलफल भइरहेको बेला भएको सो कार्यक्रमले थप सहयोग पुग्ने दूतावासले जनाएको छ।
त्यसअघि उद्घाटन समारोहमा नेपाल र ओमानको राष्ट्रिय गानसँगै मालश्री धुन समेत बजाइएको थियो। यसअघि काठमाडौंमा सम्पन्न ‘नेपाल इन्भेष्टमेन्ट समिट २०१९’ मा नेपालका प्रधानमन्त्री सहित अन्य देशका प्रतिनिधीले दिएका मन्तव्यलाई भिडियोमार्फत प्रस्तुत गरिएको थियो।