लिबियामा आप्रवासीहरूलाई राखिएको एउटा बन्दीगृहमा हवाई हमला भएको छ।
त्रिपोलीको पूर्वी तजोरामा रहेको एउटा बन्दीगृहमा हमला हुँदा कम्तीमा ४० जना मारिएका र ८० घाइते भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
मारिनेमध्ये धेरैजसो अफ्रिकी आप्रवासी रहेको बताइएको छ।
आपत्कालीन सेवा सम्बन्धी निकाय अनुसार प्रत्यक्ष हमला हुँदा १२० जना आप्रवासीहरू बन्द कोठाभित्र थिए।
मृतकको संख्या बढ्ने पनि अनुमान गरिएको छ।
संयुक्त राष्ट्रसंघले सघाइरहेको प्रधानमन्त्री फयेज अल सेरा नेतृत्वको राष्ट्रिय सहमतिको सरकारले बुधबारको हमलाका लागि स्वघोषित लिबियन नेसनल आर्मी (एलएनए) लाई दोष लगाएको छ।
शक्तिशाली खलिफा हफ्तरले नेतृत्व गरेको एलएनएले हमला भएको क्षेत्रमा अन्तर्राष्ट्रिय मान्यता पाएको लिबियाको सरकारप्रति बफादार फौजविरूद्ध लडिरहेको छ।
लिबिया लामो समय शासन गरेका मुअम्मर गद्दाफी सन् २०११ मा सत्ताच्युत भएपछि हिंसा र विभाजनबाट प्रताडित छ। (बीबीसी)