थाइल्याण्डका राजा महा वचिरालङ्कनले आफ्नी दिदी राजकुमारी उबोलरतनाले प्रधानमन्त्रीमा उम्मेदवारी दिने निर्णय शाही परम्परा र संस्कृतिविपरीत भएको बताएका छन्।
६७ वर्षीया राजकुमारी उबोलरतनाले शुक्रबार पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवार बन्न लागेको घोषणा गरेकी थिइन्।
थाइ दरबारले जारी गरेको एक वक्तव्यमा राजकुमारी उबोलरतनाको कदम देशको शाही परम्परा र संस्कृतिविपरीत हुने भन्दै चिन्ता व्यक्त गरिएको छ।
मार्च २४ मा प्रधानमन्त्री चयनका लागि चुनाव हुँदैछ।
थाइल्याण्डका टेलिभिजन नेटवर्कहरूमा प्रसारित दरबारको वक्तव्यमा भनिएको छ, ‘राजकुमारी उबोलरतनाले शाही पदहरू त्याग गरिसकेको भए पनि उनी आफू चाक्री वंशको सदस्य भएको बताउँछिन्। त्यसैले उनी राजनीतिमा सहभागी हुनु अनुपयुक्त हुनेछ।’
थाइ राजदरबारको वक्तव्यमा ‘थाइ राजसंस्था राजनीतिक रूपमा तटस्थ रहनुपर्ने’ संवैधानिक प्रावधान पनि उल्लेख गरिएको छ।
उबोलरतनाको उम्मेदवारीसँग सन् २०१४ मा सैन्य कूमार्फत सत्तामा आएका प्रायुथ चान ओचालाई आगामी चुनावमा धक्का लाग्ने देखिएको छ। उनी जुन्तासमर्थक पालाङ प्रचारत पार्टीबाट प्रधामन्त्री उम्मेदवार बनेका छन्।
राजकुमारी उबोलरतना अहिलेसम्म पार्टीकी सदस्य छैनन्। उनले सांसदका लागि उम्मेद्वारी पनि दिएकी छैनन्। थाइल्याण्डको संविधानअनुसार सांसद नहुँदा पनि प्रधानमन्त्री बन्न पाइन्छ।
अमेरिकी नागरिक पिटर जेन्सनसँग विवाह गरेपछि सन् १९७२ मा उबोलरतनाले थाई राजपरिवारको उपाधि त्यागेकी थिइन्। १९९८ मा उनको पिटरसँग सम्बन्धविच्छेद भएको थियो। त्यसको तीन वर्षपछि उनी स्वदेश फर्किएकी थिइन्।
सन् १९३२ संविधानले राजसंस्था आलंकारिक बनाएपछि थाई राजपरिवारका कुनै पनि सदस्यले सक्रिय राजनीति पदका लागि चुनाव लडेका छैनन्।
उबोलरतनाले उम्मेदवार बन्न सिनावात्राको पार्टीलाई छानेकाले पनि धेरैले यसलाई आश्चार्य मानेका हुन्।
प्रहरीबाट टेलकम व्यवसायी हुँदै राजनीतिमा होमिएका सिनावात्रा थाइ जनतामा निकै लोकप्रिय छन्। सन् २००१ यता भएका सबै चुनावमा उनको पार्टीले बहुमत ल्याएको छ। तर दुई पटक भएका सैन्य कूबाट प्रधानमन्त्रीलाई हटाइएको छ।
सन् २००६ मा भएको सैन्य कूपछि सिनावात्रा निर्वासनमा गए। त्यसपछि उनका ज्वाइँ सोम्चाइ वोङसवात सन् २००८ मा प्रधानमन्त्री बने। सन् २०११ मा सिनावात्राकी बन्नी यानलक सिनावात्राले प्रधानमन्त्री जितिन् तर सन् २०१४ को सैन्य कूबाट उनलाई हटाइयो। (बीबीसीबाट)
यो पनि :
थाइल्याण्डमा राजनीतिक भूकम्प : सिनावात्रासँग मिलेर राजकुमारी बनिन् प्रधानमन्त्री उम्मेदवार