भेनेजुयलाको सर्वोच्च अदालतले विपक्षी नेता हुवान गुवाइदोलाई देश नछाड्न मंगलबार आदेश दिएको छ।
आफैंले आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका गुवाइदोको सम्पत्ति रोक्का गर्न पनि अदालतले आदेश दिएको जनाइएको छ।
गुवाइदोका विरूद्धमा महान्यायाधीवक्ता तारेक विलियम साबको मागअनुसार अदालतले यस्तो फैसला गरेको अधिकारीहरूले बताएका छन्।
विपक्षी नेता गुवाइदोले देशको शान्ति सुव्यवस्थामा असर पारेकाले देश छाड्न नपाउने आदेश दिन महान्यायाधीवक्ताले माग गरेका थिए।
गुवाइदोले आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेपछि कतिपय जनता र निकायले उनलाई समर्थन गरे पनि सर्वोच्च अदालतले भने उनको विपक्षमा मत जाहेर गरेको थियो।
लामो राजनीतिक सङ्घर्षका कारण चरम आर्थिक सङ्कट भोगिरहेको भेनेजुयलामा पछिल्लो समय राजनीतिक द्वन्द्व थप चर्किदै गएको छ।
द्वन्द्व बढेकाले पछिल्ला केही साता हिंसात्मक घटना पनि धेरै भएका छन् ।
विपक्षीहरूले बहिस्कार गरेको निर्वाचनलाई नै वैध मानेर राष्ट्रपति निकोलास मडुरोले राष्ट्रपतिको दोस्रो कार्यकाल सुरू गरेपछि विवाद थप चर्किएको हो।
निर्वाचन निष्पक्ष हुन नसक्ने भन्दै विपक्षीहरूले निर्वाचन बहिष्कार गरेका थिए। विवादित निर्वाचनबाट राष्ट्रपतिमा निर्वाचित भएको घोषणा भएपछि उनले यही जनवरी १० मा शपथ ग्रहण गरेका थिए।
उनको सपथसँगै देशभरी विरोध प्रदर्शन भएका थिए ।
त्यस निर्वाचनलाई अवैध र अमान्य भनेका अमेरिका, युरोपली देशलगायतले अहिले पनि मडुरोलाई अस्वीकार गर्दै विपक्षी नेता गुवाइदोको समर्थन गरेका छन्।
चीन, रुस लगायतका देशहरूले भने निकोलासलाई नै मान्यता दिँदै विद्रोही नेता गुवाइदोको विपक्षमा उभिएका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार अहिले भएका विरोध प्रदर्शनका क्रममा कम्तीमा ४० जनाको मृत्यु भएको छ। अरु सयौं घाइते र पक्राउ भएका अधिकारीहरूले जनाएका छन् ।
खाद्य तथा औषधिजस्ता अत्यावश्यक वस्तुको अभाव र अत्यधिक महङ्गीका कारण लाखौं नागरिक भेनेजुयलाबाट विस्थापित हुनेक्रम बढेको छ ।
यसैबीच, अमेरिकाले भेनेजुयलाको सरकारी तेल कम्पनीबाट तेल खरिदमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। (रासस/सिन्ह्वा)