एम्नेष्टी इन्टरनेशनलले म्यानमारकी नेतृ (स्टेट काउन्सिलर) आङ सान सुकीलाई दिइएको एउटा सर्वोच्च सम्मान फिर्ता लिएको छ।
गत वर्षदेखि घर छोडेर भाग्न बाध्य भएका लाखौं रोहिङ्ग्या अल्पसंख्यक मुस्लिम समुदायप्रति सुकीले न्याय गर्न नसकेको भन्दै एम्नेष्टीले ‘एम्बेसेडर अफ कन्साइन्स अवार्ड’ फिर्ता लिएको जनाएको छ।
सुकी म्यानमारकी प्रजातन्त्रवादी नेतृ हुन्। उनी विश्वको सबैभन्दा प्रतिष्ठित मानिएको नोबेल शान्ति पुरस्कार विजेता पनि हुन्। सुकीलाई एम्नेष्टी इन्टरनेशनलले सन् २००९ मा आफ्नो सर्वोच्च सम्मान ‘एम्बेसेडर अफ कन्साइन्स अवार्ड’ दिएको थियो।
म्यानमारको सैनिक सरकारबाट आफ्नै घरमा नजरबन्दमा रहँदा सुकीलाई सो सम्मान दिइएको थियो।
म्यानमारका अल्पसंख्यक रोहिङ्ग्या नागरिकलाई सुकी सरकारमा रहेका बेला नराम्रो व्यवहार भएको र उनले छिमेकी देश बङ्गलादेशमा शरणार्थीका रूपमा बसिरहेका उनीहरूलाई स्वदेश फिर्ता गर्न कुनै पहल नगरेको विश्व समुदायको गुनासो रहेकैबेला एम्नेष्टीले उनलाई दिएको पुरस्कार नै फिर्ता लिएको हो।
एम्नेष्टी इन्टरनेशनलका महासचिव कुमी नाइडूले सुकीलाई सन् २००९ मा दिइएको उक्त सम्मान फिर्ता गरिएको जानकारी ट्वीटरमार्फत् जनाएका छन्।
उनले आफ्नो ट्वीटर अकाउन्टमा लेखेका छन्– सुकी एक समय आशा, अपेक्षा र साहसको प्रतीकका रूपमा उभिनुभएको थियो र उहाँले म्यानमारमा मानव अधिकारको रक्षाका लागि लड्ने एक अथक योद्धाको परिचय स्थापित गर्नुभएको थियो र हामीले यो उच्च सम्मान दिएका थियौं।
तर अहिले त्यस्तो अवस्था रहेन । उहाँलाई प्रदान गरिएको सो पुरस्कारको धेरै अपमान भएकाले आजका मितिदेखि सो सम्मान फिर्ता लिएका छौं, नाइडूले भनेका छन्।
एम्नेष्टी इन्टरनेशनलका महासचिव कुमी नाइडूले सुकीलाई सम्बोधन गरी पत्र लेखेर सम्मान फिर्ता लिइएको जानकारी दिइएको पनि बताएका छन्।
साथै, महासचिव नाइडूले सुकी म्यानमार सरकारको नजरबन्दमा रहेको समयमा देखाएको तथा दशकौंसम्म उनको प्रजातन्त्रप्रति निष्ठा रहेकामा अहिले आएर देखाएको यो व्यवहारबाट आफू र सिंगो एम्नेष्टी इन्टरनेशनल स्तब्ध र दुःखी भएको पनि बताए।
सुकीलाई म्यानमार सरकारले उनकै घरमा नजरबन्द गरेर राखेको थियो। उनलाई एम्नेष्टीले १९८९ मा ‘राजनीतिक बन्दी’ पनि घोषणा गरेको थियो।
राजनीतिक बन्दी घोषणा गरेको २० वर्षपछि सुकीलाई एम्नेष्टीले आफैंले प्रदान गरेको अर्को सर्वोच्च सम्मान पनि फिर्ता गरेको जनाएको छ। एम्नेष्टीको यो सर्वोच्च सम्मान यसअघि दक्षिण अफ्रिकाका सर्वोच्च नेता नेल्सन मन्डेलाले पाएका थिए।(रासस/एएनआई)