अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा बुधबार अफगान सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ।
उक्त दुर्घटनामा हेलिकप्टरमा सवार सबै २५ जनाको मृत्यु भएको अफगान अधिकारीहरूले बताएका छन्।
इरानसँगको सीमा जोडिएको फराह प्रान्तका गभर्नरका प्रवक्ता नासिर मेहरीले अनार डारा जिल्लामा खराब मौसमका कारण हेलिकप्टर दुर्घटनाग्रस्त भएको जानकारी दिए।
हेलिकप्टरमा चालक दलका दुई सदस्य र अन्य २३ व्यक्ति सवार रहेको पनि मेहरीले बताए।
सो हेलिकप्टर आफ्ना लडाकूले खसालेको तालिबानले दाबी गरेको छ।
प्रवक्ता मेहरीले हेलिकप्टर दुर्घटनामा पश्चिमी अफगानिस्तानका उपसैनिक कमान्डर र फराह प्रान्तीय परिषदका प्रमुखको मृत्यु भएको बताए।
प्रान्तीय परिषदका सदस्य दादुल्लाह क्वानेहले हेराततर्फ उडिरहेको हेलिकप्टर खराब मौसमका कारण पहाडमा ठोक्किएको बताए।
तालिवानको बाक्लो उपस्थितिका कारण उच्च सरकारी तथा सैनिक अधिकृतहरूले सामान्यतया यात्राका लागि हेलिकप्टरको प्रयोग गर्दछन्।
युद्धग्रस्त अफगानिस्तानको भौगोलिक विकटताका कारण बेलाबखत हेलिकप्टरहरु दुर्घटनामा पर्ने गरेका छन्।
गत सेप्टेम्बरमा सैनिक सामग्री बोकेको अफगानी सैनिक हेलिकप्टर फराहमा आपतकालीन अवतरण गर्नेक्रममा दुर्घटनाग्रस्त भएको थियो। उक्त दुर्घटनामा हेलिकप्टरमा सवार कम्तीमा चार जनाको मृत्यु भएको थियो।
सेप्टेम्बर महिनाकै सुरूमा उत्तरी बाल्ख प्रान्तमा हेलिकप्टर दुर्घटना हुँदा दुई जना उक्रेनी नागरिकसहित कम्तीमा १२ जनाको मृत्यु भएको थियो ।
पश्चिमी देशहरूले गृहयुद्धबाट क्षतिग्रस्त अफगानिस्तानको हवाई फौजलाई पुनर्जीवित तुल्याउन सहयोग गरिरहेको बताइएको छ। (रासस/एएफपी)