श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राजनीतिक संकटका बीच शनिबार संसद् निलम्बन गरेका छन्।
प्रधानमन्त्री परिवर्तन गरेको र मन्त्रिपरिषद् विघटन भोलिपल्ट राष्ट्रपति सिरिसेनाले संसद् पनि निलम्बन गरेका हुन्।
संसद्का उच्च अधिकारीले आउँदो नोभेम्बर १६ तारिखसम्मका लागि राष्ट्रपतिले संसद् निलम्बन गरेका पुष्टि गरेका छन्।
शुक्रबार बेलुका अपदस्थ गरिएका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले संसद्को आपत्कालीन बैठक बोलाउन माग गरिरहेका बेला राष्ट्रपतिले संसदनै निलम्बन गरिदिएका हुन्।
विक्रमासिङघेले संसद्मा आफ्नो पक्षमा बहुमत रहेको दाबी गर्दै बहुमत पुष्टि गरेर देखाउने बताइरहेका थिए।
उनले संसद्मा आफ्नो पक्षमा बहुमत भएकाले राष्ट्रपतिले आफूलाई हटाउन नमिल्ने दाबी पनि गरेका छन्।
संसद्मा आगामी आर्थिक वर्षका लागि आउँदो नोभेम्बर ५ तारिखका दिन वार्षिक बजेट पेश गर्ने कार्यक्रम रहेको थियो । बजेट पेश गर्न पनि नमिल्नेगरी संसद निलम्बन भएकाले श्रीलङ्कामा अव आर्थिक संकटसमेत आउन देखिएको छ ।
राष्ट्रपति सिरीसेनाको सत्तारुढ दलले नै मौजुदा गठबन्धन सरकार छोड्ने निर्णय गरेपछि उनले प्रधानमन्त्री परिवर्तन गरेका हुन्। सिरिसेनाको पार्टी र निवर्तमान प्रधानमन्त्री रानिल विक्रमासिंघको पार्टीले सत्ता गठबन्धन गरेका थिए ।
आफ्नै पार्टीले सरकार छाड्ने निर्णय गरेपछि राष्ट्रपति सिरिसेनाले आफ्नै प्रतिस्पर्धी महेन्द्रा राजापाक्षेलाई शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गर्दै सपथसमेत खुवाए।
गएको राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति सिरिसेनासँग राजापाक्षेले प्रतिस्पर्धा गरेका थिए। आफ्ना विरोधी र प्रतिस्पर्धीलाई नै आफ्नै सरकारको प्रधानमन्त्री बनाएर राष्ट्रपति सिरीसेनाले चकित बनाए।
आर्थिक नीति र दैनिक प्रशासनको विषयलाई लिएर राष्ट्रपति सिरिसेना र प्रधानमन्त्री विक्रमासिंघेबीच लामो समयदेखि विवाद हुँदै आएकोमा राष्ट्रपतिले प्रधानमन्त्री परिवर्तन गरे। विक्रमासिंघेको युनाइटेड नेशनल पार्टी २०१५ देखि गठबन्धन सरकारको नेतृत्वमा थियो। (रासस/एएफपी)