इन्डोनेसियामा आएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या झण्डै चार सय पुगेको छ।
सुलावेसी क्षेत्रमा आएको भूकम्प र त्यसपछिको सुनामीमा परी मृत्यु हुनेहरूको संख्या बढिरहेको अधिकारीहरूले जानकारी दिएका छन्।
अरु सयौं जनाको अस्पताल उपचार भइरहेको उनीहरूको भनाइ छ। घाइतेहरूको उद्धार गर्दै अस्पतालसम्म ल्याउने क्रममा पनि चलिरहेको बताइएको छ।
प्रकोप व्यवस्थापनसम्बन्धी कार्यालयका सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार यो समाचार लेख्दासम्म ३८४ जनाको मृत्यु भएको छ।
उनीहरू सबैको पालुमा मृत्यु भएको र मृत्यु हुनेहरूको संख्या अझ बढ्न सक्ने देखिएको अधिकारीहरूको भनाइ छ।
सुनामी आएपछि मानिसहरू आत्तिएर चिच्याइरहेका र भागिरहेका थिए। एउटा मस्जिदमा पनि क्षति पुगेको बताइएको छ। अस्पताल, होटल र पसललगायतका हजारौं घरहरू भत्किएका छन् ।
यस क्षेत्रमा अहिले विद्युत तथा सञ्चार सेवा अवरूद्ध भएका छन् भने पहिरोका कारण कतिपय मुख्य बाटोहरु अवरूद्ध भएका छन्।
शक्तिशाली पराकम्पनले उक्त सहरलाई निरन्तर धक्का दिइरहेको र सुलावेसी टापु हुँदै पालु सहर आएको सुनामीको छाल तीन मिटरसम्म अग्लो रहेको स्थानीय बासिन्दाले बताएका छन्।
इण्डोनेशियाको तटीय सहरमा शुक्रबार ७.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प आएपछि सुनामीले पनि आएको हो।
प्रहरी, सैनिक, प्रकोप व्यवस्थापनकर्ता, स्वयम सेवकलगायतले भूकम्प र सुनामी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारसँगै राहतका कामहरू पनि गरिरहेको छन्। (रासस/एएफपी)