ओमानस्थित नेपाली दूतावासले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाएको छ।
ओमानको राजधानी मस्कटस्थित ग्राण्ड हायात होटलमा एक भव्य समारोहको आयोजना गरी संविधान दिवस मनाइएको नेपाली दूतावास ओमानले जनाएको छ।
संविधान दिवस असोज ३ गते पर्ने भए पनि ओमानमा भने समय अनुकूल पारेर बुधबार सो कार्यक्रम गरिएको हो।
नयाँ संविधानले नेपाललाई विश्वमा नै सहभागितामूलक लोकतान्त्रिक देशको परिचय दिएको भान भएको बताइएको छ।
कार्यक्रममा ओमानका पर्यटन मन्त्री अहमिद विन नास्सिर अल महर्जी, ओमानका राज्य काउन्सिल र सुरा काउन्सिलका एक दर्जनभन्दा बढी वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियोे।
त्यसैगरी, ओमानमा भएका अन्य सबै मुलुकका कुटनीतिक नियोगका प्रमुखहरूको पनि सहभागिता रहेको थियो।
करिब २० हजारको हाराहारीमा नेपाली कार्यरत रहेको ओमानमा उक्त दिनको कार्यक्रमले दुई देशबीचको सम्बन्ध सुमधुर बनाउनका साथै नेपाल र नेपालीलाई चिनाउने सवालमा निकै टेवा पुग्ने नेपाली दूतावासले जनाएको छ।
उक्त शुभकामना आदानप्रदान विशेष समारोहलाई सम्बोधन गर्दै ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले नेपालको संविधानले बहुदलीय संसदीय व्यवस्था, कानूनी शासन, संघीयता, धर्मनिरपेक्षता, समावेशीता, स्वतन्त्र न्यायपालिका, पूर्ण प्रेस स्वतन्त्रता र मानवाधिकारलाई अंगिकार गरेको उल्लेख गर्दै नेपालको संविधान निर्माण पश्चात मुलुक विकासको गतिमा हिँडेको बताइन्।
नयाँ संविधान जारी भएपछि मुलुकमा शान्ति तथा अमनचयनसहित विकासका योजनाहरूले प्राथमिकताका आधारमा काम सुचारु गर्न थालेको उनले बताइन्।
राष्ट्रिय धूनबाट सुरू गरिएको उक्त कार्यक्रममा नेपालको कला संस्कृति झल्काउने पोशाक, प्राकृतिक सुन्दरता र पर्यटकीय आकर्षण झल्काउने तस्वीरहरूको प्रदर्शन गरिनुका साथै नेपालको पर्यटन प्रवर्द्धन सम्बन्धित विभिन्न पोस्टरहरू सहभागीहरूलाई वितरण गरिएको थियो।