तीन सय पटक नेपाल भ्रमण गरेकी बर्मेली नागरिक थाजी मिन्ट आङलाई सम्मान गरेर यांगुनस्थित नेपाली दूतावासले 'राष्ट्रिय दिवस' मनाएको छ।
म्यानमार (बर्मा)का मन्त्री, राजनीतिक दलका नेता, सरकारी अधिकारी, विभिन्न देशका राजदूत, नेपालीभाषी बर्मेली र नेपालबाट बर्मा आएर विभिन्न पेशा र व्यवसाय गरिरहेकाबीच थाजी मिन्ट आङलाई सम्मान गरिएको हो। पर्यटन व्यवसायी थाजी मिन्ट आङले बुद्ध जन्मभूमि नेपाल आफ्ना लागि पवित्र धार्मिक भूमि भएको बताइन्।
‘नेपाल जाँदा त्यहाँको प्राकृतिक सुन्दरताले दिने आनन्द अन्त कतै पाइँदैन,’ थाजी मिन्ट आङले भनिन्, ‘हरेक बौद्धमार्गी जीवनमा एकपटक लुम्बिनी जान चाहन्छन्। तर म पटक-पटक जान्छु। किनकि त्यहाँ जस्तो शान्ति अन्त पाइँदैन।’
म्यानमारमा करिब चार करोड ६० लाख बौद्धमार्गी छन्। गत वर्ष मात्रै ३० हजार बौद्धमार्गीले नेपालको तीर्थयात्रा गरेको जानकारी म्यानमारका नेपाली राजदूत भीम उदासले दिए।
‘सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउँदै छौं। तपाईंहरू सबैलाई नेपालमा स्वागत छ’ राजदूत उदासले भने।
राजदूत उदासले नेपाल र म्यानमार दुवैमा जातीय र भाषिक विविधतामा एकता भएको भन्दै द्वन्द्व व्यवस्थापन र शान्ति प्रकियामा दुवै देशका आ-आफ्नै अनुभव भएको बताए। म्यानमारमा १५ भन्दा धेरै जातीय सशस्त्र समूह सक्रिय छन्। शान्ति प्रकिया जारी छ।
कार्यक्रममा कृषि मन्त्री आङ थुले नेपालमा भर्खरै भएको म्यानमारका राष्ट्रपति वीन मिन्टको भ्रमणले दुई देशबीचको सम्बन्ध विस्तार भएको बताए। उनले पर्यटन र उद्योग व्यापार क्षेत्रमा दुवै देशले थप सहकार्य गर्ने पनि जानकारी दिए। नेपाल र म्यानमारबीच ५८ वर्षदेखि कुटनीतिक सम्बन्ध कायम छ।
राजदूत उदासले नेपालको पछिल्लो संविधानमा महिलालाई दिएको राजनीतिक अधिकार र सामाजिक न्यायको चर्चा गरेका थिए। संविधान जारी भएको दिन असोज ३ लाई राष्ट्रिय दिवस मनाउने सरकारी निर्णय अनुसार विभिन्न देशका नेपाली दूतावासले 'राष्ट्रिय दिवस' मनाएका हुन्। गणतन्त्र स्थापनासँगै यसअगाडि प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र दिवस जस्ता विभिन्न दिनमध्ये कुन दिनलाई 'राष्ट्रिय दिवस' मनाउने भन्ने अलमल थियो।