रूसले मङ्गलबार अहिलेसम्मकै सबैभन्दा विशाल सैन्य अभ्यास शुरु गरेको छ ।
लाखौँ सैनिकले एकैसाथ गरिएको उक्त अभ्यासमा तीन लाख सेना, ३६ हजार सैनिक गाडी, ८० पानीजहाज र एक हजार विमान, हेलिकोप्टर तथा मानवरहित युद्धक विमान सहभागी हुनेछन् ।
अभ्यासमा तीन हजार ५०० चिनियाँ सेनालेसमेत भाग लिएका छन् ।
रूस र चीन सहभागी विशाल सैन्य अभ्यास गरिने सूचनासँगै उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)ले सैन्य अभ्यासलाई ‘विशाल द्वन्द्व’ को अभ्यास भन्दै यसको आलोचना गरेको छ ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त विशाल सैन्य अभ्यासलाई प्रत्यक्ष अवलोकन गर्नेछन्।
रूसले सुदूरपूर्वी शहर भ्लादिभोस्टोकमा आयोजना गरेको भोस्टोक–२०१८ नाम दिइएको चिनियाँ राष्ट्रपति लगायतका विश्व नेताहरू सहभागी हुने आर्थिक सम्मेलनमा सहभागिता भएपछि राष्ट्रपति पुटिनले सैनिक अभ्यास हेर्ने बताइएको छ ।
रूसी रक्षामन्त्रीले विशाल सैन्य अभ्यास शुरु हुनुपूर्व नै तयारी अवस्थामा राखिएका सैनिक गाडी, जहाज, हेलिकोप्टर र पानी जहाजको भिडियो दृष्यलाई सार्वजनिक गरेका थिए ।
यसैबीच रूसको चीनसँग बढ्दो निकट सम्बन्धको सम्मेलनका अबसरमा भाग लिन रूस पुगेका चिनियाँ राष्ट्रपतिसँगको भेटमा मुक्त कण्ठले प्रशंसा गरे ।
'हामीबीच राजनीतिक, सुरक्षा तथा रक्षा क्षेत्रमा विश्वासिलो सम्बन्ध रहेको छ,' रूसी राष्ट्रपतिले भने ।
उक्त अवसरमा चीनका राष्ट्रपति सीले दुई मुलुकबीचको मित्रता सबै समय मजबुत रहेको बताए ।
मङ्गोलियाली सैनिकले पनि सहभागिता जनाउने उक्त सैन्य अभ्यासको नेटोले भने ‘विशाल द्वन्द्व’को अभ्यास संज्ञा दिदैं आलोचना गरेको छ ।
सैन्य अभ्यास रूसले पश्चिमी मुलुकका गतिविधिमाथि हस्तक्षेप गरेको भन्ने बिषयमा मस्कोमाथि आरोप लगाइएको र उनीहरूबीच तनाब बढेको बेला आयोजना गरिएको छ । पश्चिमा राष्ट्रहरूले यूक्रेन र सिरिया रूसी हस्तक्षेपको पनि आलोचना गरिरहेका छन् ।
रूसी सेनाले सैन्य अभ्यासलाई सन् १९८१ मा सोभियत सङ्घले गरेको करिब एक लाख ५० हजार सैनिक सहभागी जापड–८१ (वेस्ट–८१) को विशाल युद्धअभ्याससँग तुलना गरेको छ ।
रक्षामन्त्री सेर्गेइ सोइगुले अहिलेको सैन्य अभ्यास त्योभन्दा अझ विशाल भएको बताए ।
राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले नेटोद्वारा देखाएको चासोप्रति खण्डन गर्दै यो नियमित सैन्य क्षमता विकासका लागि गरिएको बार्षिक अभ्यास भएको मङ्गलबार बताए।
'यी महत्वपूर्ण अभ्यास पक्कै हुन् तर यी सेना क्षमता विकासका लागि गरिने बार्षिक कार्यक्रम मात्रै हुन्,' पेस्कोभले सञ्चारकर्मीसँग भने ।
पेस्कोभले यस पहिले रूसले अन्तराष्ट्रिय अवस्थालाई मध्यनजर राख्दै गर्न लागेको विशाल सैन्य अभ्यास जायज भएको दावी गरेका छन् ।