थाइल्याण्डको गुफाबाट उद्धार गरेर अस्पतालमा भर्ना गरिएका सबै बालक र उनीहरूका प्रशिक्षक आउँदो बिहिबार घर फर्किने भएका छन्।
स्वास्थ्य उपचारपछि उनीहरूलाई अस्पतालबाट बिदाइ गरेर घर फर्काउन लागिएको अधिकारीले बताएका छन्।
गुफामा फसेका १२ जना बालक र उनीहरूका एक जना फुटबल प्रशिक्षकलाई चार दिन अगाडि गुफाबाट उद्धार गरेर अस्पताल लगिएको थियो। उनीहरू गत जुन २३ मा गुफामा फसेका थिए।
उद्धार गरिएका सबैलाई मनोवैज्ञानिक परामर्शसमेत गरिएको छ भने सम्पूर्ण स्वास्थ्य परीक्षण पनि भइरहेको अस्पतालले जनाएको छ।
‘आउँदो बिहिबार उनीहरू सबैलाई अस्पतालबाट बिदा गरेर घर फर्काइने छ,’ अस्पतालका एक अधिकारीले भने।
उद्धार गरिएका बालक र उनीहरूका अभिभावकलाई आफन्त र साथीहरुसँग समय बिताउन, तर सञ्चार माध्यमलाई अन्तर्वार्ता नदिन सुझाव दिइएको छ।
थाइल्याण्डको उत्तरी क्षेत्रमा रहेको गुफामा उनीहरू झण्डै दुई हप्ताभन्दा बढी समय थुनिएका थिए। घुम्न गएका बेला बाढी आएर गत जुलाई २३ मा गुफामा फसे पनि उनीहरूको अवस्था नवौं दिनमा मात्रै पत्ता लागेको थिए।
उनीहरूलाई गुफाबाट बाहिर निकाल्न अन्तर्राष्ट्रिय गोताखोर, उद्धारको क्षेत्रमा कार्यरत विज्ञलाई परिचालन गरिएको थियो। (रासस/एएफपी)