पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ पक्राउ परेका छन्। उनलाई शुक्रबार साँझ नियन्त्रणमा लिइएको हो।
उनलाई शुक्रबार पाकिस्तानको लाहोरस्थित विमानस्थलमा ओर्लिएलगत्तै पक्राउ गरिएको हो। उनीसँगै आएकी छोरी मार्यम नवाजलाई पनि पक्राउ गरिएको छ। पूर्वप्रधानमन्त्री शरीफले पनि आफूलाई सेनाले पक्राउ गर्न सक्ने बताएका थिए।
शरीफलाई हालैमात्र यहाँको एक अदालतले १० वर्ष जेल सजायको फैसला सुनाएको थियो। इस्लामावादमा रहेको एक अदालतले केही समयअघि उनलाई १० वर्ष कारावासको फैसला गरेको हो।
सो फैसलाको समयमा लन्डनमा रहेका शरीफलाई हिजो स्वदेश फर्किएलगत्तै निणन्त्रणमा लिइएको छ। उनलाई यसरी पक्राउ गरिएपछि यहाँको राजनीतिमा भने नयाँ उतारचढाव आएको छ।
पाकिस्तानमा यही जुलाई २५ मा संसदको निर्वाचन हुन लागेको छ। सो निर्वाचनको प्रचारप्रसार अभियान सुरु भइसकेको छ।
निर्वाचनको पूर्व सन्ध्यामा उनलाई यसरी नियन्त्रणमा लिएपछि यहाँको राजनीतिमा नयाँ उथलपुथल हुने अनुमान गरिएको छ।
उनले आफूलाई पाकिस्तानको सेनाले सधैँ तारो बनाएको बताउँछन्। लन्डनबाट पनि हिजो स्वदेशका लागि प्रस्थान गर्नुअघि उनले सार्वजनिक गरेका एक भिडियोमा भनेका थिए, ‘म पाकिस्तानी सेनाको तारो बनेको छु, मलाई लाग्छ म विमानस्थलमा पुगेपछि उनीहरू मलाई पक्राउ गर्न सक्छन्।’
उनलाई १० वर्षे जेल सजायसँगै एक करोड अमेरिकी डलर जरिवाना पनि तोकिएको अदालतले जनाएको छ।
श्रीमतीको उपचारका लागि पूर्वप्रधानमन्त्री सरिफ बेलायतको लण्डनमा थिए। उनकी श्रीमती क्यान्सर रोगबाट पीडित छन्।
प्रायः उतारचढावपूर्ण रहेको पाकिस्ताको राजनीतिक यात्रा सरिफको पक्राउपछि भने कता मोडिने हो भन्ने कौतुहल पाकिस्तानी नागरिकको रहेको बताइन्छ। (रासस/सिन्ह्वा)