रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त पत्रकार सम्मेलन गरेका छन्।
हेल्सीन्की शिखर सम्मेलनपछि उनीहरूले पत्रकार सम्मेलन गर्ने तयारी भएको रुसको प्रमुख प्रशासनिक केन्द्र क्रेमलिनले जनाएको छ।
क्रेमलिनका प्रवक्ताले आउँदो हप्ता हुने शिखर सम्मेलनपछि उनीहरूले संयुक्त वक्तव्य नै जारी गर्ने निश्चित भने नभएको शुक्रबार जानकारी दिए।
‘दुई जना राष्ट्रपतिको संयुक्त पत्रकार सम्मेलन हुने छ,’ प्रवक्ता दिमित्री मेद्भेदेभले पत्रकारहरूसँग भने।
उनले शिखर सम्मेलनका बारेमा दुई राष्ट्रपति पुटिन र ट्रम्पको पहिलो बैठक आउँदो सोमबार हुने जानकारी पनि दिए।
विश्वमा एक अर्काले ठिक विपरित धारको नेतृत्व गर्दै आएका पुटिन र ट्रम्पको भेटवार्तालाई महत्वका साथ हेरिएको छ।
यसअघि ब्रसेल्समा भएको अर्को एउटा शिखर सम्मेलनका क्रममा राष्ट्रपति ट्रम्पले समकक्षी पुटिनलाई शत्रु नभइ प्रतिस्पर्धीको रूपमा लिएको बताएका थिए।
उनले पुटिनलाई दुई पटक भेटे पनि पर्याप्त चिनजान हुन नसकेको र अब हुने भेटबाट राम्रो साथी बन्न सक्ने टिप्पणी गरेका थिए।
यसअघि उनीहरूकाबीचमा गत वर्षको नोभेम्बरमा भएको एपेक शिखर सम्मेलनका क्रममा भियतनाममा पछिल्लो भेटवार्ता भएको थियो।(रासस/एएफपी)