बाह्र जना किशोर र उनीहरूका फुटबल प्रशिक्षक १८ दिनसम्म फसेको थाइल्यान्डको गुफामा संग्रहालय बनाइने भएको छ।
उत्तरी थाइल्यान्डमा अवस्थित यो गुफा आकर्षक पर्यटकीय स्थान बन्ने देखिएकाले संग्रहालय बनाउने योजना भएको हो। यो थाइल्यान्डकै लामोमध्ये एक गुफा हो जसको नाम थाम लुआङ हो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो संग्रहालयले फसेकाको उद्धार कस्तो ठाउँबाट कसरी भयो भन्ने देखाउनेछ।
त्यस्तै दुई कम्पनीले सम्पूर्ण उद्धार प्रक्रिया समेटेर फिल्म बनाउने प्रस्ताव पनि अघि सारेका छन्।
गत जून २३ मा गुफामा फसेका १३ जनालाई १८ दिनपछि पालैपालो निकालिएको थियो। गुफामा पानी नभएका बेला उनीहरू छिरेका थिए। पछि पानी परेर भेल पसेपछि भित्रै फसेका उनीहरूलाई नवौं दिन मात्र जलसेनाका गोताखोरहरूले फेला पारेका थिए।
दुई दिन लगाएर उनीहरूलाई गुफाबाट निकालिएको हो र सबै अस्पतालमा सकुशल छन्। उनीहरू ११ देखि १६ वर्षका छन् भने प्रशिक्षक २५ वर्षका हुन्।
जलसेनाले उद्धार क्रममा तस्वीर र भिडियो सार्वजनिक गरेका छन्। उनीहरूले कति जटिल परिस्थितिबाट १३ जनालाई निकाले भन्ने भिडियोमा देख्न सकिन्छ।
उद्धार सुरु हुनुअघि फसेकाहरूलाई अक्सिजन पुर्याएर फर्कने क्रममा एक गोताखोरको मृत्यु पनि भएको थियो। यसपछि स्थिति झनै चिन्ताजनक भए पछि अनेक उपाय लगाएर फसेकाको उद्धार सुरु गरिएको हो।
थाम लुआङ गुफा म्यानमारको सीमा नजिकै चियाङ राइ प्रदेशमा वरपर हिमालले घेरिएको मे साइ गाउँमा छ। पर्यटकनिम्ति सुविधा नभएकाले यो क्षेत्र विकसित भइसकेको छैन।
गुफामा संग्रहालय बनाएर यो ठाउँलाई प्रमुखमध्येको पर्यटकीय गन्तव्य बनाउने योजना रहेको उद्धार मिसनका प्रमुअ नारोङसाक ओसोट्टानाकोनले बताएका छन्।
तर यसनिम्ति सुरक्षा व्यवस्था बलियो बनाउनुपर्ने प्रधानमन्त्री प्रायूथ चान–ओचाले बताएका छन्। गुफा भित्र र बाहिर नै अपनाउनुपर्ने सावधानीबारे जनाउ दिइनेछ।
तर कुन महिनामा यो गुफा घुम्न सुरक्षित हुन्छ भन्ने पूर्ण अध्ययन भइसकेको छैन। थाइल्यान्ड बाढीको जोखिम धेरै भएको ठाउँ हो। जून महिनादेखि अक्टोबरसम्म यहाँ वर्षा हुन्छ।
अहिले फसेका किशोर पनि पानी नभएकाबेला भित्र गएका थिए। यस्तो आकस्मिक मौसम र अवस्था हुनसक्ने ठाउँमा पर्यटक आउने समय कसरी व्यवस्थापन गर्ने भन्नेबारे छलफल हुँदैछ।
(बिबिसीको सहयोगमा)