थाइल्याण्डको एउटा गुफामा थुनिएका १२ जना बालक र एक जना उनीहरूका प्रशिक्षकसहित १३ जनाको उद्धार कार्य आइतबार पनि बिहानैबाट सुरू भएको छ ।
दक्षिणी थाइल्याण्डमा रहेको एउटा गुफामा करिब दुई हप्तादेखि फसेका उनीहरूको उद्धार कार्य स्थानीय समय अनुसार आइतबार बिहान १० बजे सुरू भएको सरकारी अधिकारीहरूले बताएका छन्।
उद्धारका लागि १३ जना अन्तर्राष्ट्रिय गोताखोर, उद्धारको क्षेत्रमा कार्यरत विज्ञहरूलाई परिचालन गरिएको नारोङसाक ओसोटानाकोमका गभर्नर चिआङ रायले जानकारी दिए।
उद्धार टोलीमा पाँच जना सेनाको विशेष टोली पनि सहभागी गराइएको उनले बताएका सिन्ह्वा समाचार समितिले उल्लेख गरेको छ ।
उनीहरूलाई एक एक गरेर बाहिर निकालिने भएको छ । उनीहरूमध्ये पहिलोलाई आइतबार बिहान काम सुरू गरेको झण्डै एघार घण्टामा गुफाबाट बाहिर निकाली सकिने गभर्नर रायको अनुमान छ ।
उनीहरूलाई बाहिर निकाल्न करिब १०० स्थानमा प्वाल पारेर गुफा भित्रको ग्याँस बाहिर फाल्ने र अक्सिजन भित्र पठाउने ‘चिम्नी’ बनाइएको छ ।
गुफा बाहिरबाट पारिएका ती प्वाल करिब ३०० मीटर लामो रहेको उद्धार कार्यमा खटिएकाहरूले जानकारी दिएका छन् ।
ती प्वालबाट अक्सिजन भित्र पठाउन सकिने र त्यसैबाट गुफाभित्रको ग्याँस पनि बाहिर आउने भएकोले उद्धारकर्ता सजिलै गुफाभित्र जान सक्ने तथा र ती बालकको उद्धार गर्न सजिलो हुने उनीहरूले बताएका छन् ।
ठूलो सङ्ख्याका उद्धारकर्मी तथा सेनाले दुई दिन लगाएर विशेष प्रविधिको प्रयोगगरी यी चिम्नी निर्माण गरिएको यहाँको सेनाले जानकारी दिएको छ ।
उद्धारकर्ताहरूले सबैभन्दा पहिले एक बालकलाई आइतबारै बेलुका नौ बजेतिर बाहिर निकाल्ने छन् र क्रमशः अरुलाई पनि बाहिर निकालिने छ । अधिकारीहरूले १३ जनालाई नै बाहिर निकाल्न दुई देखि तीन दिन सम्म लाग्ने बताएका छन् ।
‘उनीहरू उद्धारका क्रममा आइपर्न सक्ने चुनौतीहरु सामना गर्न तयार भएका छन्, चिकित्सा टोलीले पनि त्यसका लागि आवश्यक तयारी गरेको छ, गभर्नरले भने।
गुफामा फसेका बालकहरू ११ देखि १६ बर्ष सम्मका रहेका छन् भने उनीहरूका प्रशिक्षक २५ वर्षका छन् ।
उनीहरू गएको जुन २३ देखि गुफामा फसेका हुन् । हराएको दिनदेखि खोजी गरिरहदा नवौँ दिनमा मात्रै उनीहरू भेटिएका थिए । उनीहरुको खोजी तथा उद्धारका लागि एक हजार जना उद्धारकर्ता परिचालन गरिएको छ ।(रासस/सिन्ह्वा)