पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफले आफू जेल सजाय भोग्न तयार रहेको बताएका छन्।
शुक्रबार इस्लामावादको अदालतले शरिफलाई भ्रष्टाचार गरेको अभियोगमा दश वर्ष जेल सजाय तोकेको थियो।
उहाँलाई दश वर्षे जेल सजायसँगै एक करोड अमेरिकी डलर जरिवाना पनि तोकिएको अदालतले जनाएको छ ।
‘देश र जनताको स्वतन्त्रताका लागि म जस्तोसुकै सङ्घर्ष गर्न तयार छु,’ पूर्वप्रधानमन्त्री शरिफले भने।
आफ्नी श्रीमतीको उपचारका लागि लण्डनमा रहेका शरिफ जेल सजाय भोग्न चाँडै स्वदेश फर्किने बताएका छन्। तर कहिले स्वदेश फर्किने भन्ने बारेमा भने उनले स्पष्ट पारेका छैनन्।
श्रीमतीको स्वास्थ्यमा सुधार भएपछि आफू स्वदेश फर्किने उनको भनाइ छ । पूर्वप्रधानमन्त्री शरिफकी श्रीमती क्यान्सर रोगबाट पीडित छिन् ।
यही जुलाई २५ मा हुनलागेको निर्वाचनको पूर्वसन्ध्यामा भएको यो फैसला अर्थपूर्ण भएको वकिलहरूले बताएका छन् ।
नेता शरिफ गत वर्ष सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्री पदबाट अपदस्त भएका थिए।
भ्रष्टाचारको अभियोग लागेपछि अनुसन्धान गर्नुपर्ने भएकाले उनी प्रधानमन्त्री पदमा बसिरहन नमिल्ने आदेश अदालतले दिएपछि उनको बहिर्गमन भएको थियो । उनलाई आगामी दिनमा राजनीतिक गतिविधि गर्न पनि प्रतिबन्ध लगाइएको छ ।
उनीमाथि लागेको आरोपको शरिफ र उनका समर्थकले अस्वीकार गर्दै आइरहेका छन् । उनीहरूले राजनीतिक प्रतिशोधका आधारमा शरिफमाथि गलत अभियोग लगाइएको दाबी गर्दै आएका छन् ।
अदालतले शरिफसँगै उनकी छोरी मार्याम नवाजलाई पनि भ्रष्टाचार गरेकै अभियोगमा सात वर्षको जेल सजाय तोकेको छ ।
त्यसैगरी मार्यामका श्रीमान् मोहम्मद सफडारलाई समेत सोही मुद्दामा एक वर्ष जेल सजाय हुनुपर्ने फैसला गरिएको छ । (रासस/सिन्ह्वा)