अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती हमलामा ४१ जनाको मृत्यु भएको छ। धार्मिक समूह शियाको साँस्कृतिक केन्द्रमा भएको हमलामा अन्य ८० जनाभन्दा बढी घाइते भएका बिबिसीले जनाएको छ। घाइतेमा महिला तथा बालबालिका पनि छन्।
हालसम्म घटनाको जिम्मा कसैले लिएको छैन। तालिबान समूहले गरेका आशंका भए पनि उसले यसमा आफ्नो कुनै हात नरहेको बयान जारी गरेको छ।
केही समययता अफगानिस्तानमा शिया समुदायसँग जोडिएका स्थानमा यस्ता हमला भइरहेका छन्।
अफगानिस्तान गृह मन्त्रालयका प्रवक्ता नसरत रहीमीले हमला भएको जानकारी दिएका हुन्। हमला तबायन साँस्कृतिक भवनमा भए पनि सँगैको मिडिया अफगान भ्वाइस पनि लक्षित गरिएको बताइएको छ। भवनमा केही विद्यार्थी कार्यक्रम गरिरहेका थिए। त्यहाँ उपस्थित दुई विद्यार्थीको मृत्यु भएको र दुई जना घाइते भएका अफगान भ्वाइसका पत्रकार सायद अब्बास हुसेनीले जानकारी दिएका छन्।
सबै घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।