स्पेनको क्याटलोनियाका अपदस्त नेता कार्ल पुज्डेमोनेले वार्ताका लागि गरेको आग्रहलाई प्रधानमन्त्री मारिआनो राजोइले अस्वीकार गरेका छन्।
बिहीबार भएको निर्वाचनमा कार्ल समर्थीत पृथकतावादी पार्टीले अत्याधिक बहुमत ल्याएपछि स्पेन बाहिर भेटवार्ता गर्न उनले गरेको आग्रहलाई प्रधानमन्त्रीले शुक्रबार नै अस्वीकार गरेका हुन्।
वार्ताका लागि पुज्डमोनले गरेको आग्रहका बारेमा पत्रकारले सोधको प्रश्नमा प्रधानमन्त्री राजोइले भने, “निर्वाचन जितेको मध्ये म एक जनालाई मात्रै भेट्न सक्छु । उहाँ आइनिस अरिमाडास हुनुहुन्छ।”
उनले क्याटलोनियामा नयाँ बन्ने सरकारले पूर्ण रुपमा कानूनको पालन गर्ने विश्वास पनि व्यक्त गरे। उनको यो भनाई गत अक्टोबर एकमा छुट्टै राज्य बनाउने पक्षमा भएको जनमत संग्रहपछि भएको संविधान विरोधी कदम प्रति लक्षित थियो।
क्याटलोनियाका सांसदहरुले स्वतन्त्र राज्यको घोषणा गरेपछि केन्द्रीय सरकारले तत्काल हस्तक्षेप गरी त्यहाँको संसद विघटन गरिदिएको थियो।
आफैंले संसद विघटन गरिदिएकाले बिहीबार केन्द्रीय सरकारले नै क्याटलोनियाको नयाँ संसदका लागि निर्वाचन गराएको हो।
प्रधानमन्त्री राजोइले भने, “सकारात्मक र व्यवहारिक वार्ता गर्न म सधै खुल्ला छु, तर मेरा पनि केही कानुनी सीमाहरु छन्।”