गैरआवासीय नेपाली संघ एनआरएनए कोरियाको छैठौं अधिवेशन राजधानी सोलमा सुरू भएको छ। यही सेक्टेम्बर ९ र १० तारिखलाई मिति तय भए अनुरूप पहिलो चरणको उद्घाटन कार्यक्रम कानुन मन्त्री यज्ञ बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भइ बन्द सत्रमा प्रवेश गरेको छ।
नेतृत्वका लागि दुई जना महिलासहित ६ जनाले उम्मेदवारी दिएको भए अन्तिम चरणमा प्रत्यासी उमेद्वार लोचन राईले आइसिसि सदस्यमा उम्मेद्वारी घोषणा गरे भने अर्का उम्मेद्वार रविन तामाङले आफ्नो उम्मेद्वारी फिर्ता लिएसँगै अब ४ जना उमेद्वारबीच कडा प्रतिश्पर्दा हुने देखिएको छ।
नेतृत्वका लागि उम्मेद्वारी घोषणा गरिसकेका ४ जना अन्तिमसम्म भिड्न तयार देखिन्छन् भने समर्थनका लागि राजनीति, जातीयता, क्षेत्रियता जस्ता संकिर्णयताका विषय उठान गरेर केही उम्मेद्वार लागि परेको हल्ला बाहिर आएको छ। सबैजना आफ्नो पक्षमा समर्थन जुटाउन कसरत गरिरहेका छन्। विभिन्न सामाजिक सञ्जालमार्फत खुल्ला रूपमै गुट उपगुट तथा प्यानल हरुको घोषणा गर्ने क्रम चलिरहेको छ।
हाल अध्यक्षको प्रत्यासी रूपमा खडा गरेका ओम जुकजालिले नेपाल मगर संघ दक्षिण कोरिया, एमाले निकट प्रवासी नेपाली नेपाली मञ्च, माओवादी निकट जन प्रगतिशील मञ्च दक्षिण कोरिया नयाँ शक्ति निकट अन्तर्राष्ट्रिय नेपाली समाज दक्षिण कोरिया, नेपाली संघीय समाज दक्षिण कोरिया आदि राजनीति संगठनको समर्थन पाएको खुलासा भएको छ।
त्यसै अर्का उमेद्वार लक्ष्मी गुरूङलाई नेपाली कांग्रेसको प्रवास संगठन जनसम्पर्क समितिको समर्थन रहेको हल्ला समेत बाहिर आएको छ।
प्रवासमा रहेर पनि भुगोल, क्षेत्र, जात, राजनीतिको खोल ओढेर समर्थन जुटाएर नेतृत्व लिन खोज्नु जायज नहुने धेरैको आवाज छ। सकेसम्म सर्वसम्मतिमा नेतृत्व चयन गर्नु सर्वोत्तम उपाय हो। नेपालको राजनीतिलाई गाली गर्न पछि नपर्ने त्यही राजनीतिको आड खोजेर विश्वव्यापी सञ्जाल भएको एनआरएनए साखाको नेतृत्व जान खोज्ने मोहले राम्रो भन्दा हाम्रोले प्रश्रय पाउने देखिन्छ।
एनआरएनए कोरियालाई हेर्ने नजर सकारात्मक नभएको अवस्थामा नयाँ नेतृत्व राम्रो सक्षम आए त्यसले बिग्रिएको एनआरएनए कोरियाको दृष्टिकोणलाई पुरै परिर्वतन गर्न सक्नेछ। यद्यपी अहिले उम्मेद्वारी घोषणा गरिसकेकाबाट यहाँ कार्यरत नेपालीले त्यस्तो सकारात्मक र केही नयाँ आशा भने गरेको देखिन्न।
राम्रो, सक्षम, योग्य उम्मेद्वारलाई आफ्नो विवेक प्रयोग गरेर मत दिनुपर्ने मतदाताको अधिकारलाई कुण्ठित गर्ने गरी यस्ता खालका खेलले प्रवासमा पनि राजनीतिको फोहोरी गुट उपगुट मौलाएको पुष्टि हुन्छ।
हुन त विकसित देशको चुनाव हेरिसकेका मतदाताले नेतृत्व छनोटमा त्यही अनुसारको विकेक प्रयोग गरे राम्रो हुन्छ। तर त्यो होला या नहोला अधिवेशन र नेतृत्व छनोटपछि देखिने मतपरिणामले देखाउने छ।