कोरियामा कार्यरत केही जागरुक युवाहरुको समूहले महाबिर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई १४ लाख बराबरको सहयोग रकम हस्तान्तरण गरेका छन्।
फेसबुक ग्रुप मार्फत खोलिएको 'स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियान’ को पहलमा संकलित उक्त रकम शुक्रबार हस्तान्तरण गरिएको हो।
वैज्ञानिक क्षेत्रमा खोज अनुशन्धान गर्ने स्वदेशी विद्यार्थीलाई सहयोग गर्ने उद्धेश्यका साथ महाबिर पुनको संयोजकत्वमा खोलिएको राष्ट्रिय आविस्कार केन्द्रलाई रकम अभाब भएको भन्ने समाचार प्रकाशित भएपछि कोरियाका केहि जागरुक युवाहरु रकम संकलन अभियानमा जुटेका थिए। करिब डेढ महिनाको अभियानबाट संकलित उक्त रकम एक कार्यक्रमका बीच अभियान संयोजक सर्बजित शाहको प्रत्क्षय उपस्थितिमा हस्तान्तरण गरिएको हो।
हस्तान्तरण कार्यक्रममा संयोजक शाहले सम्पूर्ण सहयोगी दाताहरुलाई विशेष धन्यवाद प्रकट गर्दै यसरी राष्ट्र निर्माणमा जुटेको आविष्कार केन्द्रलाई सहयोग गर्न पाउदा खुसी लागेको बताए।
सोहि कार्यक्रममै पछिल्लो पटक नेपालमा गएको बाढीपहिरोबाट घरबार बिहिन परिवारलाई २ लाख १० हजार बराबरको आर्थिक सहयोग गरिएको अभियान्ता युवराज घिमिरेले बताए।
कोरियामा श्रम गर्न आएका केही बुद्धिजीवि सर्कलहरुद्वारा खोलिएको "स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियान " ले यसभन्दा पहिला पनि बर्दिबासमा मुसहर बस्ति निर्माणार्थ एक दिने श्रमदानसहित धुर्मुस सुन्तली फाउन्डेसनलाई १२ लाख बराबरको आर्थिक सहयोग गरेको थियो।
यसरि देश विदेशबाट संकलित रकमलाई जलविद्युतमा लगानी गरि आएको प्रतिफलबाट आविस्कार केन्द्रलाई थप मजबुत र दिगो बनाउने केन्द्रका संयोजक पुनले बताए।