एक उत्तर कोरियाली सैनिकलाई दक्षिण कोरिया प्रवेश गरेपछि त्यहाँको सेनाले नियन्त्रणमा लिएको छ।
दक्षिण कोरियाको जोइन्ट चिफ अफ स्टाफ (जेएससी) का अनुसार उनको परिचय भने खुल्न सकेको छैन। ती सैनिक उत्तर कोरियाबाट बगेर दक्षिणतिर आएको इम्जिन नदी नजिक पहिलो पटक देखिएका थिए।
दक्षिण कोरियाले जडान गरेको विशेष खालको थर्मल इमेजिङ उपकरणमा ती सैनिक पत्ता लागेको हो। ती सैनिक कडा सुरक्षाव्यवस्था भएको दुई देशको सीमा पार गरे पनि दक्षिण कोरियाली सैनिकहरूले उनलाई मध्यराति नै आफ्नो नियन्त्रणमा लिएका थिए।
प्रत्येक वर्ष दर्जनौँ मानिसहरू उत्तर कोरिया छोडेर भाग्छन्। तर डिएमजेड भनिने कडा सुरक्षा व्यवस्था भएको क्षेत्र पार गरेर भाग्ने घटना न्यून हुन्छन्। यद्यपी यसलाइ धेरै खतरनाक मानिन्छ।
डिएमजेडको दुई पट्टि दुवै देशका हजारौँ सैनिकहरू सुरक्षा व्यवस्थाका लागि खटेका हुन्छन्।