दक्षिण कोरियामा जारि सिताकालिन ओलम्पिकको समापन समारोहमा उत्तर कोरियाले गुप्तचर विभागका एक जना वरिष्ठ अधिकारीलाई सहभागी हुन पठाउने भएको छ।
उक्त समापन समारोहमा दक्षिण कोरिया आउने भनिएका उत्तर कोरियाली गुप्तचर निकायका प्रमुख जेनरल मिम योङ चोललाई दक्षिण कोरियाविरुद्ध कैयौँ आक्रमणहरू गराएको आरोप समेत लाग्ने गरेको छ।
लामो समयदेखि चिसिएको दुई कोरियाबीचको सम्बन्ध सुधार तथा कोरियाली प्रायद्वीपमा जारी शान्ति प्रक्रियालाई अघि बढाउने नयाँ अवसरका रूपमा लिदै दक्षिण कोरियाले उत्तरको यो कदमको स्वागत गरेको छ।
यसैगरी अमेरिकी राष्ट्रपति ट्रम्पकी छोरी इभान्काले प्योङ्च्याङमा सहभागी हुने अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गर्ने बताइएको छ।
ओलिम्पिककको उद्घाटन समारोहमा उत्तर कोरियाली नेता किम जङ अनकी बहिनी किम यो जोङ सहभागी भएकी थिइन् भने समापन समारोहमा समेत उच्च अधिकारीको सहभागितालाइ ओलम्पिक कुटनीतिको रुपमा व्याख्या गरिएको छ।
समापन समारोहमा आउन लागेका सत्तारुढ दलका उच्च अधिकारी किम योङ चोल माथि २०१० मा ४६ जना दक्षिण कोरियाली नाविकको ज्यान लिने गरी एउटा नौसैनिक डुंगामा गरिएको आक्रमणको मुख्य योजनाकार भएको आरोप छ।
प्योङ्याङबाट आउने उच्च अधिकारीहरुको समूह तीन दिनसम्म दक्षिण कोरियामा बस्ने र उनीहरुले राष्ट्रपति मून जे इनसँग भेटवार्ता गर्ने बताइएको छ।