अंग्रेजी नयाँ वर्षको अवसर पारेर कोरियाका नेपालीले राष्ट्रिय टोपी दिवसको रुपमा मनाएका छन्।
नेपालको कला संस्कृति तथा पहिचानलाई प्रवाससम्म फैलाउने उद्धेश्यका साथ आयोजना गरिएको उक्त नेपाल चिनाउने अभियानमा यहाँ कार्यरत केहि जागरूक नेपाली युवाहरुले राष्ट्रिय पोशाकमा पदयात्रा समेत गरेका छन्।
गत सोमबार नेपाली टोपी, दौरा सुरूवाल पहिरिएका झण्डै एक सय भन्दा बढी युवाहरुले सउल स्टेशनबाट नाम्सान पहाडमा रहेको सउल टावरसम्म पदयात्रा गरेका थिए।
करिब १ घन्टाको पदयात्राका क्रममा नेपाली युवाहरुले नेपालको राष्ट्रिय झण्डा, ढाका टोपी, नेपालको पर्यटकीय स्थलका पर्चा पम्पलेटका साथ नेपाल भ्रमणका लागि कोरियन र विदेशी पर्यटकलाई निम्तो समेत दिएका थिए।
नेपालीको पहिचान नै गुम्ने अवस्थाबाट बचाउन प्रवासमा रहेता पनि विभिन्न कार्यक्रमहरु मार्फत आवाज उठाउनु जरुरि रहेको यात्रामा सहभागी अधिकांश युवाको भनाइ थियो।
धर्म ,संस्कृति ,भेषभुषा आदि बिबिधताले भरिएता पनि देश बिदेशमा यसको राम्रो प्रचार प्रसार हुन् नसक्दा देशले अपेक्षाकृत रुपमा पर्यटन प्रवर्दन गर्न सकिरहेको छैन। यसरी देश बिदेशमा रहेका युवाले बिभिन्न कार्यक्रम मार्फत नेपाल र नेपालीको पहिचान चिनाउने अभियान चलाई रहेको अवस्थामा सरकारले पनि यसलाई राष्ट्रिय टोपी दिवसको रुपमा संविधानमै संस्थागत गर्न सके देशको पर्यटन विकासमा थप टेवा पुग्ने देखिन्छ।