रोजगारीका लागि करिब ९ वर्ष अघि कोरिया आएका एक नेपाली युवाले कोरियन भाषा अध्यन सम्बन्धी मोबाइल एप्लिकेसन तयार पारेका छन्। कोरियाको छाल्लानाम्दोस्थित एक कम्पनीमा कार्यरत चितवनका पवन सिलवालले उक्त एप्लिकेसन तयार गरेका हुन्।
कोरियन भाषा अध्यनमा सहज हुने उक्त एपमा धेरै जसो कोरियन क्रियापदलाई नेपाली भाषामा उल्था गरिएको छ। कोरियामा कामको बाबजुत पनि बचेको समयलाई सदुपयोग गरि करिब ६ महिना लामो प्रयास पछि उक्त एप्लिकेसन तयार पार्न सफल भएको बताए।
आफूले कोरिया बस्दा सिकेको भाषिक ज्ञानलाई सबैको सामु प्रस्तुत गर्न पाउदा अत्यन्तै खुसी लागेको सेतोपाटीसँगको कुराकानीमा सिलवालले बताए।
कोरियन भाषा नाम दिइएको उक्त एप्लिकेसन बनाउनुको मुख्य उद्धेश्य नेपाल, कोरिया तथा अन्य देशमा रहेका नेपालीले सजिलै कोरियन भाषा सिकुन् भन्ने रहेको सिलवाल बताउँछन। उनले यो बाहेक अन्य २ वटा एप्सको प्रोजेक्ट पनि तयार गरेको र केही दिनमै प्ले स्टोरमा आउने बताए।
मोबाइलको प्ले स्टोरमा गइ
कोरियन भाषा (koreanbhasa) अंग्रेजीमा टाइप गरेपछि उक्त एप्लिकेसन सजिलै डाउनलोड गर्न सकिन्छ। भाषाको मुख्य जरो कोरियन क्रियापदलाई नेपालीमा उल्था गरि राखिएको उक्त एपमा दैनिक प्रयोगका शब्दलाई अपडेट गर्दै जाने उनी बताउँछन्। हाल उनले तयार गरेको एप्लिकेशन कोरिया गुगल प्ले स्टोरमा ट्रेन्डीङ् पेजको १० औं स्थानमा छ।