विद्यार्थी भिसामा २० वर्षअघि जापान पुगेका गोरखाका भवन भट्ट यतिखेर जापानसहित विश्वका विभिन्न मुलुकमा सफल व्यवसायीका रूपमा स्थापित भएका छन्।
कुनै पनि काम सानो ठूलो नहुने विश्वास बोकेका भट्टले अथक मेहनत र संघर्षको फलस्वरूप आजको यो स्थितिमा पुगेका हुन्। रेस्टुराँमा भाँडा माझ्ने कामबाट व्यवसायमा छिरेकाभट्टको अहिले जापानमा मात्रै २९० होटल तथा रेस्टुराँ सञ्चालनमा छन्।
अहिले पाँच हजार जापानी र २५० भन्दा बढी नेपालीलाई प्रत्यक्ष रोजगारी दिएका भट्ट सन् १९९७ मा २१ वर्षको उमेरमै टोखाइ विश्वविद्यालयमा अध्ययनका लागि जापान आएका थिए।
‘जापान गइसकेपछि पढाई खर्च र दैनिक गुजारा चलाउन क्याम्पस समयबाहेक अरु समयमा मैले रोजगारी गर्न थालेँ,’ एनआरएन विश्व सम्मेलनमार्फत अध्यक्षको दाबेदारी प्रस्तुत गरेका भट्टले सेतोपाटीसँग भने, ‘महँगो ठाउँ भएकाले गुजारा चलाउन सुरूआती दिनमा रेस्टुराँमा भाँडा माझ्ने काम शुरु गरेको हुँ।’
आफ्ना पुराना दिन समझदै भट्ट भन्छन्, ‘घरमा काम नगरी हुर्केको मलाई सुरूआती दिनमा रेस्टुराँमा भाँडा माझ्नुपर्दा धेरै अप्ठ्यारो लाग्यो, यति पढेको मान्छेले के भाँडा माझ्ने भन्ने सोचेर चित्त पनि दुख्यो तर यस्तो सोचिरहेसम्म अगाडि बढ्न सकिँदैन, श्रमलाई सम्मान गर्नुपर्छ भन्ने निष्कर्षसहित भाँडा माझ्ने कामलाई पनि अवसरका रुपमा लिन थालेँ।’
भाँडा माझ्ने काममा पनि केही नयाँ गर्नुपर्छ भन्ने लागेर उनले माझेको भाँडा अरूको भन्दा सफा हुनुपर्छ भन्ने ठानेर अझ धेरै मेहनत गरे। उनको कामबाट प्रभावित भएर साहुले उनलाई दिँदै आएको घण्टाको ७०० जापानी ऐनमा ५० बढाएर ७५० पुर्याइदियो। कामप्रतिको लगाव देखेर साहुले उनलाई भाँडा माझ्ने कामबाट केही समयपछि वेटरको काममा बढुवा गरिदिए।
यसरी ६ वर्षसम्म फरक/फरक रेस्टुराँ र होटलमा काम गर्दागर्दै अनुभवका आधारमा होटल प्रबन्धकको पदसम्ममा पुग्न सफल भए। एउटै ठाउँमा काम गर्दा आलश्यता र निराशा बढ्ने ठहरसहित यो बीचमा उनले दर्जनौँ होटल तथा रेस्टुराँमा काम गरे।
विशेष गरी खानपान र पेय पदार्थको व्यवसायबारे रूचिका साथै ज्ञान हासिल हुँदै गयो। सोही ज्ञानलाई अवसरमा बदल्ने तथा कामदार र कर्मचारीबाट मालिकमा उक्लिने योजना उनले बनाए।
नेपालमा पनि टिबिआई समूहको अध्यक्षका रुपमा सञ्चार, शिक्षा, पर्यटन, पूर्वाधार लगायतका क्षेत्रमा करिब दुई अर्ब रुपैयाँ लगानी गरिसकेको छ।
जापान गएको ६ वर्षपछि टोकियोको बिएमसी सिन्जुको भन्ने ठाउँमा सन् २००३ मा उनले एउटा घाटामा गएको रेस्टुराँ किने। सुरुआती दिनमा नचले पनि बिस्तारै विभिन्न छुट र कार्यक्रम ल्याएपछि केही समयपछि रेस्टुराँ चल्न थाल्यो।
यस्तै उनले नेपालमा पनि टिबिआइ समूहको अध्यक्षका रुपमा सञ्चार, शिक्षा, पर्यटन, पूर्वाधार लगायतका क्षेत्रमा करिब दुई अर्ब रुपैयाँ लगानी गरिसकेको छ।
‘कारोबार’ दैनिक, युनाइटेड ब्रुअरी, बिबी एअरवेज, धुलिखेल माउण्ट रिसोर्ट, कलेज, काठमाडौँ–हेटौँडा सुरुङमार्गलगायत २३ वटा नेपाली संस्थामा उनको लगानी छ। ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने नारालाई आत्मसात् गर्न रुचाउने भट्टको देशप्रतिको प्रेमकै कारण आफ्नो लगानी आगामी दिनमा नेपालमै बढाउने योजना रहेको बताउँछन्।
विसं २०७२ मा भूकम्प गएको दुई घण्टापछि नै एक करोड रुपैयाँ पीडितलाई सहयोग गर्ने घोषणा गरेका भट्टकै अग्रसरतामा भूकम्पपीडितका लागि राहत तथा उद्धारमा गैरआवासीय नेपाली संघ (एनआरएन) को ठूलो सहयोग नेपाल भित्रिएको थियो।
नेपालमा संविधान जारी भएपछि भारतले लगाएको नाकाबन्दीको विरोधमा जापानस्थित भारतीय दूतावासमा उनकै नेतृत्वमा ज्ञापनपत्र बुझाएपछि अन्य देशमा समेत एनआरएनहरुले त्यहाँस्थित भारतीय दूतावासमा ज्ञापनपत्र र धर्ना दिएपछि नाकाबन्दीको विषय अन्तर्राष्ट्रियकरण हुन सहयोग पुगेको थियो।
पछिल्लो समयमा ‘अतिथि देव भव’ अन्तर्गत नमस्ते अभियानमार्फत नेपालमा पर्यटक भित्र्याउने तथा पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्नका लागि एकैपटक नेपालको प्रमुख शहर काठमाडौं, चितवन, पोखरा, लुम्बिनी गरी चारै शहरमा उनले अभियान सञ्चालन गरेका थिए।
एनआरएनको अध्यक्षमा उम्मेदवारीगैरआवासीय नेपाली संघ (एनआरएन) को अन्तर्राष्ट्रिय परिषद्को वर्तमान उपाध्यक्ष रहेका भट्टले आज काठमाडौँमा हुने एनआरएनको आठौँ विश्व सम्मेलनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।
सन् २००३ मा सम्पन्न भएको एनआरएनको पहिलो विश्व सम्मेलनदेखि नै यो संस्थामा सक्रिय भट्ट २००३-०४ मा जापान एनआरएनको तदर्थ समितिका सदस्यका रुपमा काम गरेका छन्।
एनआरएन जापानको अध्यक्ष, एनआरएनको अन्तर्राष्ट्रिय परिषद्को कोषाध्यक्ष र अहिले उपाध्यक्षको दोस्रो कार्यकालको अन्तिम चरणमा छन्।
आफू अध्यक्षमा निर्वाचित भएमा आफ्नो कार्यकाल एनआरएनका लागि नयाँ युगको सुरुआत गर्ने उनको लक्ष्य छ। आफ्नो कार्यकालमा एनआरएनको सदस्य संख्या दोब्बर बनाउने, महिलाहरुलाई शसक्त बनाउने र लाप्राक र एनआरएन भवनलाई यसै बर्ष पुरा गर्ने लक्ष्य बनाएका छन्। जमुना गुरूडले अन्तमा आएर आफ्नो दाबेदारी प्रस्तुत गर्नु दुःखका विषय भएको उनले बताए।
दुई कार्यकाल अध्यक्ष खाएका शेष घलेले आफूपछि श्रीमती जमुनालाई अघि सारेपछि एनआरएन भित्र परिवारबादको चर्को बिरोध भएको छ।