आर्थिक अनुशासन बिना कुनै पनि संस्था सञ्चालन हुन सक्दैन। संस्थामा आर्थिक क्रियाकलाप व्यवस्थित हुनैपर्छ। यदि त्यसो भएन भने अराजकता निम्तन्छ र आर्थिक अनियमितता हुने खतरा रहन्छ।
पछिल्लो दुई वर्षमा गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई आर्थिक रूपमा पारदर्शी बनाउने प्रयास भएको छ। आर्थिक अनुशासन तथा पारदर्शिताको सुरूआत भएसँगै पछिल्लो समय एनआरएनएमा आम मानिसको विश्वास बढ्दै गएको छ।
संघको दिगो आम्दानीको स्रोत पनि तय भएको छ। जसले गर्दा सशक्त ढंगबाट गतिविधि सञ्चालन गर्न सक्ने परिस्थिति संघले निर्माण गरेको छ। विगतका कार्यकालमा संघले घाटा बेहोर्नु परेको थियो। तर, अहिले संस्था आर्थिक रूपले बलियो छ। संस्थाले अहिले बचत पनि गर्न थालेको छ। त्यति मात्र नभई संस्थामा आर्थिक अनुशासन समेत कायम भएको छ।
अहिले आमूल परिवर्तन गर्दै संस्थालाई नाफामा लगिएको छ। यसका कतिपय अनावश्यक खर्च रोकिएको छ भने प्रशासनिक खर्चमा पनि कटौती भएको छ। हाल संस्थाले सामाजिक क्षेत्रमा खर्च गरेको छ। खर्च र आम्दानीको विवरण स्वस्थ रुपमा राखिएको छ। हरेक तीन/तीन महिनामा वित्तिय विवरण प्रकाशन हुन्छ। यसले पनि संस्थालाई पारदर्शी हुन मद्दत पुगेको छ।
आर्थिक पारदर्शी
यो कार्यकालमा मुख्यतः तीन वटा विषयमा ध्यान दिइएको छ। बजेट बनाउने, आन्तरिक तथा बाह्य लेखा परीक्षण गर्ने र हरेक तीन महिनामा वित्तिय विवरण प्रकाशन गर्ने। यसबाट धेरै हदसम्म आर्थिक पारदर्शीमा सघाउ पुगेको छ। यस्तै, अन्धाधुन्ध रूपमा गरिने खर्चको परिपाटीको पनि अन्त्य भएको छ।
अब बजेट बनाउँदा प्रोजेक्ट फाइनल गर्नुपघि भिजिबिलिटी गर्ने, योजना बनाउने र स्रोतको सुनिश्चितता हुने काम हुन्छ। यसरी काम गर्दा प्रोजेक्ट प्रभावकारी ढंगले सञ्चालन हुन्छ। बजेट बनाएर खर्च गर्ने प्रणालीको विकास भएसँगै यसले आर्थिक रुपमा पारदर्शिता ल्याउन टेवा पुगेको छ।
यसअघि विस्तृत आर्थिक लेखा परीक्षण (डीडीए) र टेक्निकल अडिट गर्ने सिष्टमको खासै सुरुवात भएको थिएन। अहिले यसलाई प्रभावकारी ढंगले अघि बढाएका छौँ। सबै विषयहरु सिष्टममा ल्याएका छौँ। घाटामा रहेको संस्थालाई नाफामा ल्याउन सफल भएका छौँ। यस्तै, डीडीए गर्दा संस्था दुई करोड नाफामा गएको छ। प्रोजेक्ट बनाउँदा पनि योजनाबद्ध ढंगले काम गर्न सकिने अवस्था सिर्जना भएको छ। नीतिगत प्रशानिक तथा आर्थिक सुधार भएको छ। संस्थाको दिगो आर्थिक विकासमा पनि जोड दिइएको छ।
‘मेम्बरसीप बेनिफिट प्रोग्राम’
‘मेम्बरसीप बेनिफिट प्रोग्राम’ बाट एनआरएनएका सदस्य तथा संस्थालाई समेत फाइदा पुग्ने कार्यक्रमको सुरुवात हुँदैछ। हरेक मेम्बरको आफ्नै आइडी हुन्छ। नेपालका विभिन्न बैंक लगायत सेवामूलक कम्पनीसँग सहकार्य गरी १० प्रतिशत डिस्काउन्ट हुँदा पनि ७ प्रतिशत मेम्बरलाई र ३ प्रतिशत संस्थालाई हुने गरी कार्यक्रम ल्याउन लागेका छौँ। यसले संस्थाको दिगो विकासमा टेवा पुगेको छ। अब संस्थामा जो कोही आएपनि यो संरचना कायम गर्दा आर्थिक पारदर्शिता र आर्थिक अनुशासन कायम हुन्छ। संस्था दिगो हुन्छ। अनुशासन र पारदर्शिता कायम भएको छ।
आम्दानीको मुख्य स्रोत सदस्य नै हो। हामीले सामाजिक उत्तरदायित्वका काम पनि यसै संस्थामार्फत् गर्ने योजना बनाएका छौँ। स्पोन्सरबाट आम्दानी जुट्छ। डोनर एजेन्सीसँग मिलेर पनि सामाजिक क्षेत्रमा काम गर्दैछौँ।
एनआरएनए फाउन्डेसन
हामीले एनआरएनए फाउन्डेसन पनि गठन गरेका छौँ। यसको विधान र नियम बनाउने काम सम्पन्न भएको छ। फाउन्डेसनबाट समाज सेवा, सामाजिक काम गर्न सहज हुनेछ। एनआरएनए फाउन्डेसनमार्फत् सामाजिक गतिविधि सञ्चालन गर्नेगरी प्रक्रिया अघि बढेको छ। यो गैरआवासीय नेपाली संघ मातहत नै हुनेछ। संघको सहकार्यबाटै क्रियाकलाप अघि बढ्ने छन्। तर यसको खर्च विवरण छुट्टै हुनेछ।
१० अर्बको डेपलपमेन्ट फण्ड
हामीले विदेशमा रहेका नेपालीको लगानी सुनिश्चित गर्न १० अर्बको एनआरएनए डेपलपमेन्ट फण्ड स्थापना गरेका छौँ। यसले विदेशमा बस्ने हरेक नेपालीको लगानी सुरक्षित गर्ने छ। खासगरी वैदेशिक रोजगारीमा रहेका नेपालीको साना साना पुँजी समेट्ने हाम्रो प्रयत्न छ। यसबाट नेपालको आर्थिक विकासमा पनि टेवा पुग्ने छ। १० अर्बको लगानीको व्यवस्थाले लगानीको आम्दानी सदुपयोग गर्ने वातावरण बन्ने छ।
नलेज ट्रान्सफर एण्ड रिस्ट्रक्चर
यसका साथै एनआरएनएमा संस्थागत सुधारमा धेरै प्रयत्न भइरहेको छ। नलेज ट्रान्सफर गर्ने विषयमा नीति बनाउने क्रम सुरु भएको छ। यसबाट विदेशमा छरिएर रहेका नेपालीहरुलाई एकै सुत्रमा बाँधेर नेपालका विभिन्न क्षेत्रमा लगाउने हाम्रो योजना छ। यसबाट नेपालले प्रशस्त लाभ लिने देखिएको छ। अनलाइन भोटिङको पनि व्यवस्था गरिएको छ। जो जहाँ छ, त्यहाँबाट आफूलाई इच्छा लागेको व्यक्तिलाई मतदान गर्न सक्ने व्यवस्था गरिएको छ।
यसरी गैरआवासीय नेपाली संघमा सुधारका धेरै कामहरु भएका छन्। अब आउने नेतृत्वले यी विषय व्यवस्थित गर्न इँटा थप्ने छ। अबको नेतृत्व अहिले भइरहेका संरचना भत्काउने होइन कि इँटा थप्ने हुनुपर्छ। यसै विषयमा व्यवस्थित गर्न नेतृत्वले ध्यान दिनुपर्ने छ। त्यसैका लागि म उपाध्यक्षको उम्मेदवार बन्ने योजनामा छु।
अहिलेको संरचनामा ६ जना उपाध्यक्षले विभिन्न डिपार्ट सम्हाल्ने व्यवस्था छ। मेरो रुची व्यापार तथा लगानीको नेतृत्व सम्हाल्ने छ। मैले जितेपछि त्यसैको नेतृत्व गर्ने प्रयास रहने छ। नेपालमा कसरी लगानी भित्र्याउने भन्नेमा मैले काम गर्ने छु। विदेशमा पनि कसरी लगानी गर्ने वतावारण बनाउने भन्ने विषयमा पनि योजना बन्ने छ। विदेशमा स–साना लगानीको लागि क्षेत्रीय फण्डको स्थापनामार्फत् नेपालमा सामूहिक लगानीका योजना ल्याइने छ।
खासगरी नेपालको समृद्धि र रोजगारी सिर्जना गर्न पहल हुने छ। नेपालको पर्यटन पनि सम्भावित क्षेत्र हो। व्यापार र लगानीको प्रवद्र्धनमा मेरो विशेष रुची भएकाले गैरआवासीय नेपालीहरुको यस क्षेत्रमा लगानी ल्याउन अहम भूमिका खेल्ने छु।
समग्रमा गैरआवासीय नेपाली संघमा आर्थिक पुर्नसंरचना र सुशासन ल्याउने काम भएको छ। अनावश्यक बजेट खर्च हुने क्रम रोकिएको छ। डीडिए र आन्तरिक तथा बाह्य लेखा परीक्षणले संस्थामा पारदर्शिता कायम गर्न ठूलो टेवा पुगेको छ। अब यस्तो सिष्टमलाई कसैले चाहेर पनि भत्काउन सक्ने छैन।
(लेखक गैरआवासीय नेपाली संघका कोषाध्यक्ष हुन्)