गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानले जापानमा भूकम्प प्रभावित क्षेत्रका मानिसलाई खाना खुवाउनुका साथै शौचालय प्रदान गरेको छ।
नयाँ वर्षकै दिन जापानको इशिगावा प्रिफेक्चरको नोदो प्रायद्वीपलाई केन्द्र बनाएर गएको भूकम्प प्रभावित क्षेत्र वाजिमा र सुजुसीका शिविरमध्ये दुई वटा शिविरमा रहेका ७२५ जना जापानी नागरिकलाई खाना खुवाउनुका साथै चार वटा अस्थायी शौचालय प्रदान गरिएको एनआरएनए जापानका अध्यक्ष नविन निउरेले जानकारी दिए।
भूकम्पको अति प्रभावित क्षेत्रमध्ये शुक्रबार वाजीमा सी मिइ कम्युनिटी सेन्टरमा रहेको शिविरमा रहेका ३०० जना र नजिकको शिविरमा रहेका १०० जना गरी ४०० त्यसैगरी शनिबार सुजुसी इदा माध्यमिक विद्यालयको शिविरमा रहेका २२५ जना र नजिकको शिविरमा रहेका १०० गरी ३२५ जना गरी कुल ७२५ जनालाई खाना खुवाइएको कार्यक्रम संयोजक विष्णुप्रसाद सापकोटा जानकारी दिए।
भूकम्पपश्चात् २ सय बढीको ज्यान जानुका साथै सयौ सम्पर्कविहीन रहेको र खानेपानी आपूर्ति विद्युत नियमितता, सडक सञ्चालनको नियमिततालगायत दैनिक अत्यावश्यक सामग्रीको तथा वस्तुको उपलब्धतामा अझै कठिनाइ भोगिरहेका जापानी नागरिकहरूलाई नेपालीको तर्फबाट सकेको सहयोग गरिएको अध्यक्ष निउरेले बताए।
'प्रतिकूल मौसम र भूकम्पका कारण बिग्रिएको सडकका बाबजुद पनि भौतिक रूपमै भूकम्प प्रभावित क्षेत्रमा पुगेर विपत्तिका समयमा जापानीहरूसँग नेपाली पनि सँगसँगै छौं भन्ने आभास दिलाउन सफल भएका छौं,' अध्यक्ष निउरेले भने, 'यस्ता कार्यबाट नेपालीको सहयोगीपनप्रति जापानी नागरिकले खुसी व्यक्त गरेका छन्।'
भूकम्पले दिएको पीडा त छँदै थियो, त्यसैमाथि परेको बाक्लो हिमपातको कारण बढेको चिसोको समयमा तातो तातो खानेकुरा खान पाएकोमा जापानीहरूको मुहारमा मुस्कान देखिएको एनआरएनए जापानको विशेषज्ञ समितिका सदस्य तथा सहयोग टोलीका सदस्य जिज्ञानकुमार थापाले बताए।
जापानमा रहेका हामी नेपालीले जापानका नागरिकलाई परेको अप्ठ्यारो र प्राकृतिक विपत्तिका समयमा आफूले सक्दो सहयोग गर्नु हाम्रो दायित्व सम्झिएर उक्त कार्य गरिएको र यस्ता कार्यले दुई देशको सम्बन्धमा समेत सकारात्मक प्रभाव पार्ने एनआरएनए जापानका महासचिव टीकाराम खरेलले बताए।