पछिल्ला दिनमा जापानमा कोरोना भाइरसको संक्रमण बढेसँगै यहाँका नेपाली व्यवसायी र नेपालीहरुमा चिन्ता थपिएको छ।
२५ वर्ष पहिले एक होटलमा काम गर्न यहाँ आएका बाग्लुङ, गलकोटका दिलु खत्रीको हाल इवाराकी, चिवा र टोकियोमा गरी सातवटा नेपाली रेष्टुरेन्ट छन्। कोभिड-१९ भाइरस संक्रमण डरले हाल उनका रेष्टुरेन्टहरूमा ग्राहकहरु आउन छोडेपछि सुनसान हुन थालेको छ।
त्यसैले उनले रेष्टुरेन्टमा ग्राहक चाप कम भएपछि आफूकहाँ काम गर्ने सबै पार्टटाइम कर्मचारीलाई हटाएका छन्।
यसैगरी दस वर्ष पहिले जापान आएका र हाल फुनावासी र टोकियो सिनागोभुमा गरी दुईवटा रेष्टुरेन्ट चलाइराखेका दोलखाका केशरमान कार्कीको रेस्टुरेन्ट पनि सुनसान जस्तै हुन थालेको छ।
रातोभाले नामबाट सन्चालन गरेका उनका दुई रेष्टुुरेन्टमा प्रायः नेपाली समुदायको राम्रो जमघट हुने गर्दथ्र्यो तर अहिले सुनसान बन्न थालेको उनले बताए।
६० देखि ७० जना ग्राहक क्षमता रहेको रेष्टुरेन्टमा अहिले दिनभरमा मुश्किलले १० देखि १५ जना ग्राहक देखिने गरेको उनी बताउँछन्।
यसले गर्दा उनलाई हाल प्रति रेष्टुरेन्टको मासिक तीन लाख भाडा र तिनका कर्मचारीलाई व्यवस्थापन गर्न समस्या पर्न थालेको छ।
यस्तै अवस्था विद्यार्थीका रुपमा जापान आएका चितवनका उपेन पौडेलको छ। आफनो अध्ययन पुरा भएपछि साइतामा केनको कितामोटो रेल स्टेशनमा उनले झण्डै ७० लाखको लगानीमा एउटा नेपाली रेष्टुरेन्ट खोलेका थिए तर कोरोना भाइरसका कारण पछिल्ला दिनहरूमा आम्दानी घट्न थालेको बताए। यसले उनलाई पनि चिन्तित बनाउन थालेको छ।
जापानमा अहिले एउटै शहरमा दैनिक ४० देखि ५० जनासम्ममा संक्रमण देखापर्न थालेको छ।
युरोप, अमेरिकालगायतका देशको तुलनामा जापानमा संक्रमितको संख्या अहिलेसम्म कम भएपनि पछिल्लो ७२ घण्टामा भएको वृद्धिले आम मानिसमा त्रास फैलिएको छ।
हालसम्म जापनमा संक्रमणका कारण ६५ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या झण्डै २ हजार ५ सय ३९ पुगेको छ।
जापानको राष्ट्रिय फुल साकुरा फुल्ने यो मौसममा यहाँको हावापानी उत्तम मानिन्छ र यो समय जापानीले समूह बनाएर साकुरा हेर्न भन्दै विभिन्न पार्कमा पुगी रमाइलो गर्ने समय हो।
यसलाई यहाँ हानामी भनिन्छ। यही कारणले पनि अहिले भीडभाड बढेसँगै जापानको राजधानी टोकियोमा भाइरस वृद्धि हुने खतरा बढेको हो।
टोकियोका गभर्नर युरिको कौइकोले अवस्था अत्यन्त संवेदनशील र जटिलतातर्फ मोडिएको भन्दै भाइरस नियन्त्रण नहुँदासम्म संयमता अपनाउन अपिल गरेका छन्।
जापानमा विभिन्न कारणले स्थायी र अस्थायी रुपमा यहाँ बस्दै आएका नेपालीको संख्या झण्डै एक लाखको हाराहारीमा छ।
संयोगवश अहिलेसम्म भाइरसको संक्रमणका कारण कुनै पनि नेपालीलाई भएको जानकारीमा नआएको गैहआवासीय नेपाली संघ (एनआरएनए), जापानकी सदस्य एलिजा केसी भण्डारीले बताएका छन्।
उनले एनआरएनए जापानले कुनै अप्ठेरो परे सहयोग गर्ने भन्दै सम्पर्कमा रहन आग्रह गर्दै जापानमा आफनै व्यवसाय सन्चालन गर्ने नैपालीहरु पनि धेरै रहेकाले उनीहरुलाई असर पर्न सक्ने उल्लेख गरे।
(राससका लागि जापानबाट गणेश खनियाँ)