भारतमा कोरोनाभाइरसबाट संक्रमितको कुल संख्या शनिबार पाँच लाखभन्दा बढी भएको छ।
भारतमा दैनिक हजारौको संख्यामा नयाँ संक्रमितहरु थपिदै गएकाले कुल संक्रमितको संख्या पाँच लाखभन्दा बढी पुगेको हो।
सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मात्रै १८ हजारभन्दा बढी संक्रमित भएका छन्। भारतमा शनिबार बिहान सार्वजनिक गरिएको तथ्यांकअनुसार एकैदिनमा १८ लाख ५५२ जना संक्रमित भएका हुन्।
गत जुनदेखि मात्रै भारतमा तीन लाख १८ हजार नयाँ संक्रमित थपिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।
देशभरी अहिले एक लाख ९७ हजार ३८७ जना संक्रमित अवस्थामै रहेका छन् भने संक्रमणमुक्त हुनेहरुको संख्या दुई लाख ९५ हजार ८८० पुगेको छ ।
भारतमा कोरोना भाइरसबाट संक्रमित भएर अहिलेसम्म मृत्यु भएकाहरुको कुल संख्या १५ हजार ६८५ पुगेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।
कोरोनाभाइरसबाट सवैभन्दा धेरै महाराष्ट्र प्रदेश प्रभावित भएको छ। सो प्रदेशमा कोरोनाभाइरसबाट संक्रमित भएका र मृत्यु भएकाहरुको संख्या सबैभन्दा धेरै रहेको छ। महाराष्ट्रमा मात्रै अहिलेसम्म एक लाख ५२ हजार ७६५ जना संक्रमित भएका छन्।
त्यसैगरी केन्द्रीय राजधानी समेत रहेको दिल्ली प्रदेशमा ७४ हजार ६२२ जना संक्रमित भएको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन्।