भारतमा कोरोना संक्रमित संख्या चार लाखको नजिक पुगेको छ।
हिन्दुस्तान टाइम्समा प्रकाशित अनुसार भारतमा कोरोना भाइरस संक्रमित संख्या ३ लाख ९५ हजार नाघेको छ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ १४ हजार ५ सय १६ नयाँ संक्रमित फेला परेका छन्। यो भारतमा देखिएको हालसम्मकै उच्च दैनिक वृद्धि हो।
भेटिएकामध्ये धेरै संक्रमित महाराष्ट्र, तमिल नाडु र राजधानी दिल्लीबाट रहेको उसले जनाएको छ।
यस्तै मृतक संख्या १२ हजार ९ सय ४८ पुगेको मन्त्रालयले जनाएको छ।
यसैबीच इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च(आइएमसिआर)ले भारतीय राज्यहरूलाई कोरोना परीक्षण क्षमता बढाउन भनेको छ। उसले संक्रमणको प्रारम्भिक पहिचान र रोकथामको क्षमता बढाउन सुझाव पनी उनीहरूलाई दिएको छ।
यसैगरी पछिल्लो विश्व विवरण अनुसार विश्वमा संक्रमित संख्या ८६ लाख ३७ हजार ९ सय १ पुगेको छ।
यसमा अमेरिकामा सबैभन्दा बढी २२ लाख १९ हजार १ सय १९ संक्रमित रहेका छन्।
यस्तै विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ लाख ५९ हजार नाघिसकेको छ।