कोरोना भाइरसको दैनिक संक्रमण संख्यामा भारतले नयाँ रेकर्ड कायम गरेको छ।
शनिबार एकै दिन ११ हजार ४ सय ५८ जना नयाँ संक्रमित फेला परेसँगै भारतमा जनवरी २० मा पहिलो पटक कोरोना प्रमाणित भएयताकै सर्वाधिक ठूलो वृद्धि कायम भएको हो।
गत सातासम्म त्यहाँ यो दर १० हजारको करिब थियो।
योसँगै भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मुलुकको संक्रमित संख्या ३ लाख नाघेको जनाएको छ।
भारत विश्वमा कोरोनाबाट सर्वाधिक प्रभावित हुने चौथो देश हो।
शुक्रबारमात्र उसले संक्रमित संख्यामा बेलायतलाई उछिनेको थियो। करिब पाँच चरणको लकडाउनपछि भारतले मार्चको अन्त्यबाट त्यसलाई खुकुलो बनाउन सुरू गरेको छ।
कोरोनाका कारण त्यहाँ सबैभन्दा बढी महाराष्ट्र राज्य प्रभावित बनेको छ। शनिबारबाट त्यहाँको संक्रमित संख्या १ लाख नाघेको छ।
यसैगरी भारतको राजधानी दिल्लीमा पनि २ हजार नयाँ संक्रमित फेला परेका छन्।
संक्रमित संख्या बढेको भएपनि कोरोनाबाट निको हुने दरमा पनि सुधार भइराखेको छ। शुक्रबार त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले कुल संक्रमितमध्ये १ लाख ४७ हजार जना संक्रमण मुक्त भएको जानकारी दिएको छ।
भारतमा हाल कोरोनाका १ लाख ४५ हजार ७ सय ७९ वटा सक्रिय केस रहेका छन् भने ८ हजार ८ सय ८४ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ।