भारतमा पछिल्लो समय कोरोनाको संक्रमणमा दैनिक वृद्धि देखिदैं आएको छ।
हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारका अनुसार भारतमा हालसम्म भेटिएका संक्रमितमध्ये ८६ प्रतिशत संक्रमित पछिल्लो ४० दिनमा भेटिएका हुन्।
यसैगरी समाचारमा कोरोनाका कारण मर्नेहरूमध्ये ८४ प्रतिशत मे र जुन महिनाबाट भएको उल्लेख छ।
मे महिनामा सबैभन्दा धेरै संक्रमण पुष्टि भएको उसको भनाइ छ। भारतका कुल संक्रमितमध्ये एक लाख ५३ हजार जना ३१ दिनको अवधिमा भेटिएका हुन्।
जुन १ बाट सरकारले पाँच चरणसम्म जारी गरेको पूर्ण लकडाउनलाई खुकुलो पार्ने निर्णय गरेको छ। त्यसपछि बितेको ९ दिनमा भारतमा ७६ हजार जना नयाँ संक्रमित थपिएका छन्।
संख्याका आधारमा भारत हाल विश्वको छैटौं कोरोना प्रभावित मुलुक हो। संक्रमित संख्या धेरै भएपनि मृत्युको अनुपात भने भारतमा कम छ।
सोमबारबाट भारतका धेरै राज्यका मल, धार्मिक स्थान र रेष्टुरेन्टहरू खुल्न थालेका छन्।
यसैगरी थुप्रै कार्यालयहरू पनि खुलेको हिन्दुस्तान टाइम्सले आफ्नो समाचारमा जनाएको छ।
भारतमा हाल प्रतिदिन १० हजारको करिबमा संक्रमितहरू फेला परिरहेका छन्। हालसम्म भारतमा २ लाख ६० हजार बढीमा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ।