दिल्लीमा लगातार तेस्रो दिन १ हजार भन्दा बढी नयाँ कोरोना भाइरस संक्रमित फेला परेका छन्।
दिल्ली सरकार दैनिक स्वास्थ्य बुलेटिनले शनिबार मात्र १ हजार १ सय ६३ नयाँ संक्रमित थपिएको पुष्टि गरेको छ।
योसँगै दिल्लीमा कोरोना संक्रमितको संख्या १८ हजार ५ सय ४९ पुगेको छ।
यीमध्ये ८ हजार ७५ संक्रमित निको भइसकेका छन्।
पछिल्ला तीन दिनमा संक्रमित संख्या तीव्र गतिमा बढेसँगै त्यहाँ सक्रिय केसहरु बढिरहेको छ। शनिबारसम्म त्यहाँ कोरोनाका संक्रिय केस १० हजार ५८ पुगेको छ।
दैनिकी वृद्धि यसै गतिमा हुने हो भने सोमबारसम्म दिल्लीमा संक्रमित संख्या २० हजार बढी हुने अनुमान गरिएको छ।
दिल्ली राज्यका आधा भन्दा बढी विरामीहरू घर मै आइसोलेसनमा छन्। यस्तै २ हजार बढी संक्रमितमा गम्भीर लक्षणहरू पाइएको छ। उनीहररूमा श्वासप्रश्वासको समस्या देखिएको छ।
संक्रमित संख्या बढ्ने देखिएपछि दिल्ली सरकारले पछिल्लो दुई दिनमा उपचारका लागि १९ हजार थप बेड तयार पारेको छ।
भारतमा कोरोनाको औसत मृत्युदर २.८ प्रतिशतमा छ भने दिल्लीमा त्यो २.२ प्रतिशत छ। मे ११ सम्म भने मृत्युदर १ प्रतिशत मात्र थियो।
'संक्रमित संख्या अझै बढ्न सक्छ। जूनसम्म यो चरम सीमामा पुग्नसक्छ भने सेप्टेम्बरसम्म पनि रहिरहन सक्छ। देशको करिव आधा मानिसहरुमा संक्रमण देखिन सक्छ', सफ्दारजंग अस्पतालका सामुदायिक औषधि विभागका प्रमुख डाक्टर जुगल किशोरले हिन्दुस्तान टाइम्ससँग भने।