आफूलाई धर्म प्रचारक बताउँदै हिँड्ने भारतका दाती महाराज बुधबार पक्राउ परेका छन्।
मे २२ का दिन दक्षिण दिल्लीको असोलास्थित शनिधाम मन्दिरमा धार्मिक समारोह आयोजना गरेर लकडाउनका नियमहरु उल्लंघन गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो।
'दाती महाराजलाई मे २३ मा भारतीय दण्ड संहिताको धारा १८८ र ३४, प्रकोप व्यवस्थापन ऐनको धारा ५४ बी र महामारी रोग ऐनको धारा ३ अन्तर्गत मुद्दा चलाइएको छ। उनी अहिले जमानतमा छुटेका छन्', डेप्युटी कमिसनर अतुलकुमार ठाकुरले हिन्दुस्तान टाइम्सलाई भने।
प्रहरी अधिकारीहरूले गोप्यरूपमा उक्त अनुसन्धान गरिरहेका थिए।
पोस्टरहरूबाट मानिसहरूलाई मे २२ मा भेला हुन आग्रह गरिएको थियो।
'सरकारले धार्मिक जमघट गर्न नपाउने आदेश दिएता पनि मन्दिर खोलिएको थियो,' एक पुलिस अधिकारीले भने।
अनुसन्धानमा लकडाउन उल्लंघन गर्दै ४० जनाले दाती महाराजको उक्त भेलामा उपस्थिति जनाएको पाइएको थियो।
पुलिसहरुले सामाजिक संञ्जालमा भिडियो र फोटोहरूको आधारमा केस दर्ता गरेको थियो।
डीसीपी ठाकुरले उक्त भिडियोमा देखिएका व्यक्ति दाती महाराज भएको पुष्टि भएपछि उनलाई पक्राउ गरिएको बताए।