भारतको पश्चिम बंगाल राज्यमा आगामी महिना पनि विद्यालयहरु बन्द हुने भएका छन्।
प्रदेश सरकारले आगामी जुन ३० सम्मका लागि सबै विद्यालयहरु बन्द नै गर्ने बुधबार घोषणा गरेको हो।
प्रदेश सरकारका शिक्षा मन्त्री पार्थ चटर्जीले केही दिन अघि आएको आँधीका कारण विद्यालयहरुको भौतिक संरचना क्षतीग्रस्त भएकाले विद्यालयहरु बन्द गर्नु परेको जानकारी दिए।
त्यसैगरी कतिपय विद्यालय भवनहरु कोरोनाभाइरसको सङ्क्रमणका कारण क्वारेन्टाइनको रुपमा प्रयोग गरिएकाले पनि तत्काल विद्यालय संचालन गर्न कठिनाई रहेको उहाँको भनाइ छ।
सरकारले यसअघि आगामी जुन १० सम्म बन्द रहने निर्णय गरेको थियो।
तर कक्षा १२ को प्रदेशस्तरीय परिक्षा भने नरोकिने शिक्षा मन्त्रालयले स्पष्ट पारेको छ।
कक्षा १२ को परिक्षा यही जुन २९, जुलाई २ र जुलाई ६ मा गर्नेगरी अघिल्लो हप्ता नै घोषणा भएको थियो।
पश्चिम बंगाल उच्च माध्यामिक शिक्षा बोर्डले परिक्षाका लागि सवै तयारी पुरा गर्न निर्देशन पनि दिएको मन्त्री चटर्जीले जानकारी दिए।
यस परिक्षाका लागि एक हजार ५८ ओटा परिक्षा केन्द्र निर्धारण गरिएको उनको भनाइ छ।
आँधीले परिक्षा केन्द्र निर्धारण गरिएका ४६२ ओटा विद्यालयको भौतिक संरचनामा क्षति पुर्याएकाले अन्यन्त्र सारिएको पनि उनले बताए।
भारतमा लामो समयदेखिको देशव्यापी लकडाउन र केही दिन अगाडि आएको अम्फान आँधीका कारण शैक्षिक क्रियाकलाप नराम्रोसँग प्रभावित भएको छ।