दिल्ली प्रहरीले मार्च महिनामा निजामुदिन मार्कजमा आयोजित तबलिगी जमात समारोह सहभागी ८२ जना विदेशी नागरिकविरूद्ध मंगलबार २० वटा मुद्दा दर्ता गरेको छ।
उनीहरूमाथि भिसा नियम उल्लंघन तथा कोरोना रोकथामका लागि सरकारले बनाएका निर्देशनहरूको पालना नगरेकाजस्ता आरोप 'चार्ज सिट'मा लगाइएको समाचार हिन्दुस्तान टाइम्सले प्रकाशित गरेको छ।
केन्द्रीय सरकारले आरोपित सबै ८२ जनाको भिसा रद्द गरेको र कालो सूचीमा राखेको प्रहरीले जनाएको छ।
जमात आयोजनास्थल मार्कज भारतको कोरोना भाइरसको सबभन्दा ठूलो संक्रमित क्षेत्र बन्न पुगेको थियो। त्यतिबेला झण्डै ३० प्रतिशत कोरोना संक्रमित केस यसै जमातसँग सम्बन्धित भएको पाइएको थियो।
क्राइम ब्रान्चले १५ हजार ४ सय ९९ पृष्ठ लामो अभियोगपत्र मंगलबार अपरान्ह सकेत अदालतमा पेस गरेको थियो। यसमाथि अदालतले जुन १२ मा आफ्नो धारणा दिने आशा गरिएको छ।
अभियोगपत्रमा आरोपित मानिसविरूद्ध लगाइएका आरोप र तिनका विपक्षमा रहेका प्रमाणहरूको फेहरिस्त हुन्छ। अदालतले ती अभियोगपत्रमा उल्लेखित दाबीहरूमा यथेस्ट प्रमाणहरू देखेमा मात्र अगाडि कारबाही बढाउने गर्छ।
प्रहरीले अभियोगपत्र लगाएका ८२ विदेशी नागरिक २० विभिन्न देशका हुन्। तीमध्ये १४ जना फिजीका छन् भने १० जना साउदी अरबका नागरिक हुन् भने ८ जना अल्जेरियाका छन्।
यस्तै ब्राजिल र चीनका सात-सात जना छन् भने सुडान तथा फिलिपिन्सका ६-६ जना नागरिक छन्।
यसैगरी प्रहरीले ५ अमेरिकी र ४ अफगानी नागरिकमाथि पनि अभियोगपत्र दायर गरेको छ।
यसैगरी अस्ट्रेलिया, कजाखस्थान, मोरोक्को र बेलायतबाट दुई-दुई जना छन् भने युक्रेन, इजिप्ट, रसिया, बेल्जियम, जोर्डन, फ्रान्स र ट्यूनिशीयाका एक-एक जना छन्।
उनीहरू सबैलाई भारतको महामारी रोग ऐन अन्तरगतको उजुरी तय गरिएको दिल्ली प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यस मुद्दामा दोषी ठहर भए उनीहरूलाई ६ महिना देखि ८ वर्षसम्मको कैद सजाय हुनसक्छ। यस प्रकरणमा प्रहरीले विभिन्न ३४ मुलुकका ९ सय नागरिकसँग सोधपुछ गरेको थियो।
भारतीय कानुन अनुसार पर्यटक भिसामा आएका कुनै पनि विदेशी नागरिकलाई धार्मिक मिसनका काममा सहभागिता जनाउन प्रतिबन्ध छ।
यसैगरी दिल्ली सरकारले उनीहरूमाथि यो साता थप चार्जसिट दर्ता हुने जनाएको छ।
भारतले यसअघि नै तबलिगी जमातका प्रमुख मौलाना साद खण्डल्भ र उनका ६ सहयोगीलाई इण्डियन पेनल कोड (आईपिसी)को धारा ३०४ अन्तर्गत प्रहरीले पक्राउ गरेर मुद्दा चलाइसकेको छ।