मासु तथा लाइभस्टक अस्ट्रेलियाले आफ्नो टेलिभिजन बिज्ञापनमा भगवान गणेशलाई फिल्माएपछि यहाँं रहेका हिन्दु काउन्सिल अफ अस्ट्रेलियाले सिड्नीको पारामाटामा आइतबार विरोध जुलुसको आयोजना गरेको छ।
हिन्दुहरुका देवता भगवान गणेशलाई भेडाको मासुको बिज्ञापनमा राखिएकोमा अस्ट्रेलिया सरकार समक्ष विरोधपत्र दर्ता गर्दा पनि सुनुवाइ नभएपछि हिन्दु धर्मालम्बीहरु सडकमै उत्रिएका हुन्। यस्तै अस्ट्रेलियामा रहेका बिभिन्न हिन्दु समाजका प्रतिनिधीहरु समेत यसको विरोधमा उत्रिएका छन्।
हिन्दु समाजको धार्मिक सहिष्णुतामा आघात पुगेको समेत बताउँदै काउन्सिलले आज पारामाटाको एल्फ्रेड पार्कवाट ब्यानर र प्लेकार्ड सहितको जुलुसले चर्च स्ट्रीट र भिक्टोरिया स्ट्रीटको परिक्रमा गरेको थियो।
सिड्नी स्थित भारतीय दुतावासले समेत मासु तथा लाइभस्टक अस्ट्रेलियालाई पत्राचार गर्दै तुरुन्त यो बिज्ञापन हटाउन समेत अनुरोध गरेको छ। अस्ट्रेलियाको सरकारी निकायका रुपमा लाइभस्टक अस्ट्रेलियाले फिल्माएको मासुको बिज्ञापनमा जिसस जिसस,जुइस,बुद्ध भगवान र गणेश जस्ता देवताहरुलाई टेबलमा राखेर वाइनका साथ भेडाको मासुको प्रचार गरेको छ।
बिज्ञापनमा गणेश भगवानसँंगै बुद्ध भगवानको पनि चरितार्थ गरिएको छ तर बुद्धका अहिंसाबादी अनुयाइ र जन्मथलो नेपाली समाजले पनि यसको विरोधमा आवाज उठाउनु जरुरी छ , विरोधमा सहभागि नेपाली युवा ब्यवशायी बिनोद पौडेलले बताए।
भगवान बुद्ध र गणेश दुबै साकाहारी भएको र उनिहरुको अगाडि मासु र वाइनको थाली राखेर टेबलमा बिज्ञापन गरेको पटक्कै सुहाँंउदैन ,लाइभस्टक अस्ट्रेलियाले यो बिज्ञापन तुरुन्त रोक्नुपर्छ भन्ने हाम्रो माग हो पौडेलले सेतोपाटीलाई बताए । कार्यक्रममा नेपाली समाजको प्रतिनिधित्वगर्दै पौडेलले अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमा एक अर्कालाई सम्मान गर्ने परम्पराले सुनमा सुगन्ध हुने बताए।
बिज्ञापनले धार्मीक आस्थामा चोट पुर्याउने काम नगरेको तर खाली सबै धर्म र जात जाती बिचको एकताको सन्देश दिने खालको बनाइएको बिज्ञापनकर्ताको भनाई रहँदै आएको छ।