नेपाल ट्युब अस्ट्रेलियाले धादिङ, बेनिघाट गाउँपालिका वडा नम्बर १० स्थित कोश्राङ आधारभूत विद्यालयका चेपाङ विद्यार्थीलाई छात्रवृत्तिसहित शैक्षिक सामग्री वितरण गरेको छ।
असार ६ गते (शुक्रबार) आयोजित एक समारोहकाबीच नेपाल ट्युबको तर्फबाट एक्सन नेपालले शैक्षिक सामाग्री वितरण गरेको हो।
विद्यालय व्यस्थापन समितिका अध्यक्ष तथा वडा सदस्य सूर्यमान चेपाङ र विद्यालयका प्राध्यानाध्यापक सुशीलराज गिरीको उपस्थितिमा छात्रवृत्तिसहित शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो।
नेपाल ट्युबले एक्सन नेपालको सहकार्यमा उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो।
नेपाल ट्युब अस्ट्रेलियामा सञ्चालित मल्टिमिडिया प्लेटफर्म हो। नेपाल ट्युबले विगत ८ वर्षदेखि देश विदेशमा रहेका नेपाल र नेपालीसंग सम्बन्धित सूचना, जानकारी र शिक्षामूलक सामग्री प्रसारण र प्रकाशन गर्दै आइरहेको छ।
यो विद्यालयमा कक्षा पाँचसम्म अध्यापन हुँदै आएको छ। सो विद्यालयमा ६३ जना विद्यार्थी पढ्दै आएका छन्। जसमा ५८ जना चेपाङ समुदायका विद्यार्थी छन्।
नेपाल ट्युब र एक्सन नेपालको यस सहयोगले चेपाङ समुदायको बालबालिकालाई पढाइमा सहयोग पुग्ने विद्यालयका प्राध्यानाध्यापक सुशीलराज गिरीले बताए।
शैक्षिक गुणस्तरमा थप टेवा दिन नेपाल ट्युबले विद्यार्थीहरूलाई ब्याग, कापी, कलम लगायत सामग्री वितरण गरेको हो। यस सहयोगले चेपाङ बालबालिकालाई पढ्न प्रोत्साहन मिलेको व्यवस्थापन समितिका अध्यक्ष सूर्यमान चेपाङले बताए।
यस अवसरमा एक्सन नेपालका कार्यकारी निर्देशक कमल ढुंगानाले नेपाल ट्युबको अभियानसँग जोडिएर सहकार्य गर्न पाउँदा एकदमै खुसी लागेको बताए।